तनहुँका यी स्थानीय तहमा निर्माण हुने भए पाँच शैय्याको अस्पताल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका यी स्थानीय तहमा निर्माण हुने भए पाँच शैय्याको अस्पताल

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०७७, मंगलवार

    तनहुँ : सरकारले तनहुँका आठ स्थानीय तहमा पाँच/पाँच शैय्याको अस्पताल सञ्चालनका लागि बजेट विनियोजन गरेको छ । कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेको र सङ्क्रमित बिरामीलाई राख्न अस्पतालमा शैय्याको अभाव देखिन थालेपछि सरकारले जिल्लाका आठ वटा स्थानीय तहमा पाँच/पाँच शैय्याको अस्पताल सञ्चालनका लागि रु दश/दश लाख बजेट विनियोजन गरेको हो ।

    कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको भदौ २१ गतेको निर्णय अनुसार जिल्लाको भीमाद नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, देवघाट गाउँपालिका र म्याग्दे गाउँपालिकामा अस्पताल सञ्चालन हुने भएको छ ।

    हालसम्म अस्पताल स्थापना भइनसकेका स्थानीय तहहरुमा कम्तिमा पाँच शैय्याको अस्पताल सञ्चालन गर्ने सरकारको घोषित नीति कार्यान्वयनका लागि आवश्यक शैय्या, उपकरण र जनशक्ति व्यवस्थापन लागि उक्त रकम विनियोजन गरिएको हो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार स्थानीय तहमा रहेका आधारभूत स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्य केन्द्रका भवन, सामुदायिक भवन वा अस्थायी टहरामा तत्काल कोभिड–१९ का बिरामीको उपचार व्यवस्थापन गरिनेछ । अस्पताल सञ्चालनका लागि शैय्या लगायतका सामग्री खरिदका लागि रु पाँच लाख, औषधिका लागि रु ५० हजार र डाक्टर, स्वास्थ्यकर्मी लगायतका लागि रु चार लाख ५० हजार गरी कूल र दश लाख बजेट विनियोजन गरिएको छ । उक्त बजेट अपुग भएमा बाँकी रकम सम्बन्धित स्थानीय तहले व्यवस्थापन गर्नुपर्ने कोभिड–१९ अस्थायी अस्पताल सञ्चालन सम्बन्धी मार्गदर्शन २०७७ मा उल्लेख गरिएको छ ।

    मन्त्रालयका अनुसार उक्त बजेट तीन महिनाको लागि छुट्याइएको र कार्य प्रगतिको आधारमा बजेट थप गरिनेछ । उक्त अस्पताल सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्य तथा समन्वयमा सञ्चालन हुनेछ ।