तनहुँ : कोभिड–१९ को सङ्कटका कारण दमौली अस्पतालमा रगतको अभाव भएपछि रगतको माग आपूर्ति गर्नका लागि रक्तदान गरिएको छ । कोभिड–१९ को सङ्कटका कारण रक्तदान कार्यक्रम निकै कम मात्रामा सञ्चालन गरिँदा अस्पतालमा रगतको अभाव हुन थालेको छ ।
रगतको मागलाई आपूर्ति गर्नका लागि रोट¥याक्ट क्लव अफ दमौलीले आज रक्तदान कार्यक्रम गरेको हो । क्लवका पूर्व सहसचिव स्व. सचिन श्रेष्ठको स्मृतिमा १८ औ जिल्ला तथा सातौ राष्ट्रव्यापी रक्तदान कार्यक्रम आयोजना गरिएको क्लवका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार रक्तदानबाट १५ पिन्ट रगत सङ्कलन भएको छ ।
“क्लवले प्रत्येक वर्ष सचिनको स्मृतिमा रक्तदान कार्यक्रम गर्दै आएको छ, अहिलेको कार्यक्रम विगतको भन्दा जटिल परिस्थितिमा आयोजना ग¥यौ,” श्रेष्ठले भन्नुभयो, “सङ्कटको अवस्थामा पनि सर्वसाधारणले रक्तदान गरेर सहयोग गरिदिनुभयो ।”
कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले रक्तदान जस्तो मानवीय कार्य अरु नभएकाले जटिल परिस्थितिका बाबजुद पनि कार्यक्रम गरेर क्लवले उदाहरण प्रस्तुत गरेको बताउनुभयो । “डायलासिस गराउने बिरामीलाई रगतको अत्यन्तै खाँचो रहेको अवस्थामा क्लवले मानवीय कार्य गरेको छ,” न्यौपानेले भन्नुभयो, “कोही पनि व्यक्तिले रगतको अभावमा ज्यान गुमाउने अवस्था आउन नदिन सबै सचेत हुनुपर्छ ।”
नगरप्रमुख न्यौपानेले सचिनको स्मृतिमा रक्तदान गर्ने क्लवको कार्यले उच्च श्रद्धा सम्मान व्यक्त गरेको बताउँदै मानवीय सेवा र सहयोगका कामलाई सञ्चारमाध्यमले पनि प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल रेडक्रस सोसाइटी तनहुँका प्रतिनिधि सूर्यचन्द्र हड्खले, रोटरी क्लव अफ दमौलीका अध्यक्ष दामोदर भण्डारी, इनरह्विल क्लव अफ दमौलीका अध्यक्ष आशा बानियाँ लगायतले रक्तदान जीवनदान भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष मनोज राउतले स्वागत, कार्यक्रम संयोजक अनुज विमलीले धन्यवाद र सचिव विश्वप्रकाश भुषालले सञ्चालन गर्नुभएको थियो ।