स्वाब दिएपछि आईसोलेट भएर बस्ने की !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    स्वाब दिएपछि आईसोलेट भएर बस्ने की !

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०७७, बुधबार

    तनहुँ : तनहुँको शुक्लागण्डकी–११ का २३ वर्षीय युवकलाई सोमबार कोरोना सङ्क्रमण पुष्टि भयो । भारतीय सेनामा कार्यरत उहाँ बिदामा आएर होमक्वारेन्टिनमा बस्नुभएको थियो । शुक्रबार स्वाब सङ्कलन गरेर पिसीआर परीक्षणका लागि पोखरा पठाइएकामा उहाँको रिपोर्ट पोजिटिभ आएको छ । रिपोर्ट पोजिटिभ आएपछि गाउँले त्रसित बनेका छन् ।

    कारण, होमक्वारेन्टिनमा बस्नुभएका उहाँ कोरोनाको रिपोर्ट नेगेटिभ आएको भन्दै स्वाब दिनु पहिले र स्वाब दिएपछि पनि निष्फिक्री डुलिरहनुभयो । उहाँले साथीभाई भेला गराएर पार्टी समेत दिएको एक स्थानीयले बताए । “यहाँ त रिपोर्ट नेगेटिभ आयो भन्दै साथीभाईलाई पाटी दिए । गाउँघर डुल्ने, खोलामा पौडिन जाने समेत देख्यौ । रिपोर्ट आउँदा सङ्क्रमण भएको रहेछ । गाउँमा खैलाबैला मच्चिएको छ,’ ती स्थानीयले भने । एक जनाले लापरवाही गर्दा गाउँ असुरक्षित भएको उहाँले सुनाउनुभयो ।

    नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार ती व्यक्तिको सम्पर्कमा ४० जना रहेको पाईएको छ । जोखिम बढेको भन्दै वडा कार्यालयले मङ्गलबारदेखि लागु हुने गरी वडा एक हप्ताका लागि सिल गरेको छ ।

    सोमबार नै सङ्क्रमित भएका गण्डकी प्रदेश दङ्गा नियन्त्रण प्रहरी गण तनहुँका २४ वर्षीय पुरुषले पनि शुक्रबार स्वाब दिएका थिए । स्वाब दिएपछि आईसोलेट भएर बस्नुपर्ने हो । उनी त शनिबार गण परिसरमा भएको वृक्षारोपण कार्यक्रममा पनि सहभागी भए । ती प्रहरीलाई सङ्क्रमण देखिएपछि स्वाब सङ्कलनका लागि गणले १२ जनाको नाम उपलब्ध गराएको छ ।

    जिल्लामा पछिल्लो समय होम क्वारेन्टिनमा बसेका र स्वाब दिएकाले लापरवाही गर्दा समुदायमा सङ्क्रमण फैलिदै गएको छ । आइसोलेट भएर बस्नुपर्ने, रिपोर्ट नआउँदै परिवार र छरछिमेकसँग घुलमिल भएपछि सम्पर्कमा आएकालाई सङ्क्रमण देखिएको त छ नै धेरै जना कन्ट्याक ट्रेसिङमा पर्ने र उनीहरुको पिसीआर परीक्षण गर्नुपर्ने हुँदा राज्यको खर्च अनावश्यक रुपमा बढेको छ । कोरोनाको सङ्क्रमण फैलिन नदिनलाई सरकारले २५ जना भन्दा बढी व्यक्ति एकैठाउँमा भेला नहुन भनेको छ । त्यो पनि जान्ने बुझ्नेले नै पालना गरेका छैनन् ।

    होम क्वारेन्टिनमा रहेकाले लापरवाही गरिदिँदा समुदायस्तरमा कोरोना व्यापक फैलिने सङ्केत देखिएको शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तव बताउनुहन्छ । स्वाब दिएपछि पनि रिपोर्ट नआईन्जेल आइसोलेट भएर बस्नुपर्ने उहाँको भनाई छ । “घरघरमा पुगेर स्वास्थ्यकर्मीले निगरानी गर्न सकिदैन,” उहाँले भन्नुभयो, “स्वंयम व्यक्ति र समुदाय सचेत बन्न जरुरी देखिएको छ ।” एक जनाको लापरवाहीले समुदायलाई जोखिम हुनुका साथै राज्यलाई लाखौ रुपैयाँ व्ययभार थपिने श्रीवास्तवले बताउनुभयो । लापरवाही गर्नेलाई कारवाहीको नीत अवलम्बन गर्नुपर्ने उहाँको भनाई छ । “होम क्वारेन्टिन व्यवस्थित गर्न सकिएन । अब विदेश तथा जोखिमयुक्त स्थानबाट आएका सबैलाई क्वारेन्टिनमा राख्नुपर्छ,” उहाँले भन्नुभयो ।

    तनहुँमा हालसम्म ३ सय ६२ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । तीमध्ये २ सय ३० जना निको भएका छन् । १ सय ३२ जना सक्रिय सङ्क्रमित रहेकामा २३ जना होम आइसोलेशनमा छन् । हालसम्म ४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो समय क्वारेन्टिनमा बस्नको सङ्ख्यामा कमी आएको छ । ७६ जना क्वारेन्टिनमा छन् ।