तनहुँ : तनहुँको भानु नगरपालिकाको कार्यालय भन्सारस्थित नयाँ शहरी आयोजनामा सार्ने निर्णय प्रक्रियासम्मत भएकाले यसको विरुद्ध भएका क्रियाकलाप विधिको शासन विपरित रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बताएको छ । नगरपालिकाको केन्द्र स्थानान्तरणको निर्णय भइसकेपछि यसको पक्ष विपक्षमा आइरहेका तर्क र क्रियाकलापबारे पार्टीले सुक्ष्म अध्ययन गरिरहेको र प्रक्रिया सम्मत नै भएको निर्णय विरुद्ध भएका क्रियाकलापले विधिको शासन र लोकतन्त्रको मान्यतालाई उपेक्षा गरेको पार्टीको ठहर छ ।
पार्टीका जिल्ला सचिव राजेन्द्रकेशरी न्यौपानेले बुधबार जारी गर्नुभएको प्रेस विज्ञप्तीमा भानु नगरपालिकाको मिति २०७६ माघ २३ गतेको बैठकले नगरपालिकाको केन्द्र भन्सारमा सार्ने निर्णय भई प्रदेश सरकारबाट सङ्घ सरकारलाई सिफारिस गरेको सर्वविदितै रहेको उल्लेख गरिएको छ । “प्रक्रियासम्मत भएको निर्णयको विरुद्ध बल पु¥याउँदै नेपाली काङ्ग्रेस तनहुँले जारी गरेको वक्तव्यले नगरपालिकाको निर्णय र स्थानीय सरकारको क्षेत्राधिकारलाई अवमूल्यन गरेको छ ।”
नेपाली काङ्ग्रेसबाट निर्वाचित नगरप्रमुख उदयराज गौलीको अध्यक्षतामा बैठक बसी निर्णयको लागि प्रदेश र सङ्घ सरकार सक्षम माग गर्ने र सरकारबाट निर्णय भइसकेपछि यसको विपक्षमा अतिरञ्जनापूर्ण प्रचारबाजी गर्ने रवैयाले स्वयं नेपाली काङ्ग्रेसकोे लोकतन्त्र विरोधी चरित्र उदाङ्गो भएको विज्ञप्तीमा आरोप लगाइएको छ ।
भौगोलिक हिसाबले मस्र्याङ्दी र चुँदी दुवै उपत्यकाको यातायातको केन्द्र भन्सारमा भएकाले बहुसङ्ख्यक जनसमुदायको पायक गर्ने गरी भन्सारमा केन्द्र राख्ने कुरा व्यवहारिक भएको नेकपाको ठहर छ । “केन्द्र स्थानान्तरण गर्दा फुस्रेटारमा आवश्यक पर्ने सुविधाका लागि केही सेवा केन्द्र कायम गरी नगरपालिकाकालाई सबैको सहज पहुँचयुक्त बनाउनेतर्फ जनप्रतिनिधिहरुलाई संवेदनशील हुन आग्रह गर्दछौ,” विज्ञप्तीमा भनिएको छ ।
केन्द्र स्थानान्तरण बारे भएको निर्णयबाट उत्पन्न केही जटिलतालाई विवादको भूमरी बनाउनेतर्फ उद्दत हुने, धमिलो पानीमा माछा मार्न खोज्ने, अनिर्णय, अस्थिरता र अस्तव्यस्ततामा रमाउने घृणित तत्वलाई परास्त गरी लोकतन्त्रको रक्षार्थ पूर्व निर्धारित कार्यक्रमहरु सुचारु गरी आफैले गरेको निर्णयमा दृढतापूर्वक उभिन नेकपाले अपिल गरेको छ ।