काठमाडाै : प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक व्यवस्थाअनुसारको स्थिरता कायम राख्नका लागि संविधान नै सक्षम रहेको बताउनुभएकाे छ । उहाँले अस्थिरता निम्त्याउन चाहने पुराना शक्तिको प्रयासलाई संविधानकै बलमा पराजित गरेको बताउनुभयाे ।
संविधान दिवसको अघिल्लो दिन प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार ‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल, २०१५’ को विमोचन गर्दै प्रधानमन्त्री ओलीले संविधान निर्माणको क्रममा जनसहभागितामा भएको संविधानका विषयवस्तुमाथिको छलफल नै मजबुत संविधानको आधार भएको उल्लेख गर्नुभयाे ।
किताबमा द साउथ एशिया ट्रष्ट र काठमाडौं विश्वविद्यालय स्कुल अफ ल को संयुक्त आयोजनामा सन् २०१८ को अगस्ट ११–१३ मा काठमाडौंमा भएको ‘इन्टरनेसनल कन्फ्रेन्स अन दि कन्स्टिच्युसन अफ नेपाल–२०१५’ मा प्रस्तुत कार्यपत्र, टिप्पणी, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली तथा कांग्रेस नेता रामशरण महतले व्यक्त गरेका धारणालाई पनि समेटिएको छ। उक्त किताबको सम्पादन संविधानविद् विपिन अधिकारीले गर्नुभएकाे हाे ।
किताबको विमोचन गर्दै प्रधानमन्त्री ओलीले नयाँ संविधानका विशेषता व्याख्या गर्दै सुरक्षित हुन पाउने अधिकार जनताको प्राथमिक अधिकार भएको र संविधानले त्यसलाई ग्यारेन्टी गरेको बताउनुभयाे ।
कोही पनि व्यक्ति जन्मसिद्ध रूपमा श्रेष्ठ वा तल्लोस्तरको नहुने व्यवस्था भएको बताउँदै उनले संविधानले लोकतान्त्रिक व्यवस्थाका सबै गुणहरू बोकेको बताउनुभयाे जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको संविधानले राष्ट्रको स्वाधिनता र भौगोलिक अखण्डता रक्षाका लागि पनि महत्वपूर्ण व्यवस्था गरेको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयाे ।
सामाजिक न्याय र समावेशी व्यवस्थालाई उपलब्धीको रूपमा अर्थ्याउँदै प्रधानमन्त्री ओलीले संविधानले देखाएको उक्त बाटोमा सरकार सचेत भएको र लागिपरेको उल्लेख गर्नुभयाे । उहाँले संविधानको कार्यान्वयन गर्ने क्रममा प्रदेश र स्थानीय तहका चुनाव सम्पन्न भएका, त्यहाँ संस्थागत व्यवस्था गरिएको र कानून निर्माणको कामलाई पनि तिव्रता दिइएको बताउनुभयाे ।