तनहुँ जलविद्युत आयोजनाको प्रशारण लाइन निर्माण शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    तनहुँ जलविद्युत आयोजनाको प्रशारण लाइन निर्माण शुरु

    खबरपुञ्ज संवाददाता

    ३ आश्विन २०७७, शनिबार

    तनहुँ : एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रशारण लाइन निर्माणको काम शुरु भएको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गतको २२० केभीको डबल सर्किट प्रशारण लाइन निर्माणका लागि काम शुरु भएको हो ।

    प्रशारण लाइन निर्माणका लागि शुरुको टावरको जग खनेर कार्य शुरुवात गरिएको तनहुँ जलविद्युत आयोजना प्रमुख अच्युत घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रशारण लाइन निर्माण गरिनेछ । उक्त कामको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ ।

    “प्रशारण लाइन निर्माणका लागि शुरुको टावरको जग खनेका छौ, अब कामलाई तीव्रता दिन्छौ,” घिमिरेले भन्नुभयो । घिमिरेका अनुसार प्रशारण लाइनका लागि चालु आर्थिक वर्षमा ३० वटा टावर निर्माण गरिनेछ । उहॉका अनुसार कूल ९४ वटा टावर निर्माण गरिनेछ । प्रशारण लाइनको काम केही अगाडी नै शुरु गर्ने लक्ष्य राखिएको भएपनि कोभिड–१९ को प्रभावका कारण काममा ढिलाई भएको घिमिरेले जानकारी दिनुभयो ।

    प्रशारण लाइन निर्माणको काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । घिमिरेका अनुसार प्रशारण लाइन निर्माणका लागि केही सामग्री आइसकेको छ भने केही आवश्यक टावरहरु भारतीय सीमानामा आइसकेको छ । हिउँद समय शुरु भएकाले काम गर्न सहज हुने विश्वास लिइएको घिमिरेले जानकारी दिनुभयो ।

    प्रशारण लाइन निर्माणका लागि तनहुँतर्फको भागमा ७ हजार ९ सय २३ वटा रुखहरु काट्नुपर्ने हुन्छ । चितवनतर्फको भागको पनि अध्ययन भइरहेको घिमिरेले जानकारी दिनुभयो । “तनहुँतर्फको भागमा कति रुख काटिन्छ भन्ने गणना भइसक्यो, चितवनतर्फको भागमा गणना हुँदैछ,” घिमिरेले भन्नुभयो, “फिल्डको कामलाई पनि अब अगाडी बढाउँछौ ।”

    आयोजनाको प्याकेज दुई अन्तर्गतको पावर हाउसको पनि भइरहेको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको ‘केवल टनेल’को काम पूरा भएसँगै पावर हाउसको काम शुरु गरिएको घिमिरेले जानकारी दिनुभयो । पावर हाउस निर्माणका लागि १ सय ८८ मिटर केवल टनेलको काम केही समय अगाडी मात्रै सम्पन्न भएको थियो ।

    आयोजनाको दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले विद्युतगृहका लागि ‘केवल टनेल’ खन्ने काम शुरु गरेको थियो । सिनोले आयोजनाको प्याकेज दुई अन्तर्गतको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ ।

    पहिलो प्याकेज अन्तर्गतका कामका लागि तीन वटा कम्पनीको बोलपत्र परेको र ती बोलपत्र उपर मूल्याङ्कनको काम भइरहेको आयोजनाले जनाएको छ । पहिलो प्याकेज अन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनाम÷कालिका जेभीले बोलपत्र पेश गरेका थिए । पहिलो प्याकेज अन्र्तगत एक सय चालिस मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँध लगायतका संरचना निर्माण गरिनेछ ।

    आयोजनाका लागि एक सय चालिस मिटर बाँध, एक हजार १ सय ६२ मिटर र ७४ मिटर को मुख्य सुरुङ, ८९ मिटर लम्बाई, २२ मिटर चौडाई र ४४ मिटर उचाई भएको भूमिगृत विद्यृतगृह निर्माण गरिनेछ । खुद उचाई १२१ मिटर रहने आयोजनाबाट सुख्खायामा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट उर्जा उत्पादन गर्नेछ ।

    आयोजनाको कुल लागत ५०५ मिलियन अमेरिकी डलर (प्रशारण लाईन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ । जाइकाले दोस्रो प्याकेज अन्तर्गतका कामका लागि रु १८४ मिलियन डलर बेहोर्ने छ ।