तनहुँ : संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले देश निर्माणमा युवा शक्तिको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । रोट¥याक्ट क्लव अफ पोखरा फिस्टेल, रोटर्याक्ट क्लव अफ रुपन्देही र रोटर्याक्ट क्लव अफ तिनउ बुटवलको आयोजना र रोटर्याक्ट क्लव अफ दमौलीको सहकार्यमा शनिबार आयोजित भर्चुअल बैठकलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले युवा शक्तिको परिश्रमबाटै देश समृद्धिको यात्रामा जान सक्ने उल्लेख गर्नुभयो ।
मन्त्री भट्टराईले भन्नुभयो, “हाम्रो देश बनाइदिने अरुले होइन, हामीले नै हो, अझ विशेषगरी युवाहरुले नै हो । युवाहरुको सीप र शक्तिलाई देश विकासमा परिचालन गर्न सरकार तयार छ ।” विदेशमा पढेका विद्यार्थीले ल्याएको सीप र देशभत्रि रहेका युवाहरुको परिश्रमले राष्ट्रिय स्वाधिनता अर्थतन्त्र कायम गर्नुपर्ने मन्त्री भट्टराईले बताउनुभयो ।
राष्ट्र निर्माण गर्ने कुरा सजिलो नभएपनि असम्भव नरहेको उहाँको भनाई थियो । राजनीति, प्रशासनिक क्षेत्रमा भएका कमी कमजोरी सच्याउँदै देश विकासको अभियानमा हिँड्नुको विकल्प नरहेको मन्त्री भट्टराईले उल्लेख गर्नुभयो । प्राकृतिक स्रोत साधनमा नेपाल दक्षिण एशियामै धनी रहेकाले प्राकृतिक स्रोत साधनको परिचालन गरेर देश विकास गर्नुपर्नेमा मन्त्री भट्टराईले जोड दिनुभयो । विकसित मुलुकहरु युवाकै शक्ति र श्रमले विकास भएको मन्त्री भट्टराईले चर्चा गर्नुभयो ।
कोभिडका कारण पर्यटनमा रु ६० अर्ब क्षति
कोभिड–१९ को प्रभावका कारण नेपालको पर्यटन क्षेत्रमा रु ६० अर्ब बराबरको आर्थिक क्षति भएको मन्त्री भट्टराईले बताउनुभयो । पर्यटन क्षेत्रमा रु १५ खर्बको लगानी रहेको जानकारी दिनुहुँदै मन्त्री भट्टराईले धारासायी बनेको पर्यटन क्षेत्र सुधारका लागि सरकारले पनि सहयोग गर्ने बताउनुभयो ।
“पर्यटन व्यवसायीलाई सडकमा आउने स्थिति नबनाउन सरकार गम्भीर छ, विभिन्न कोषबाट हुन सक्ने सहयोग गर्छौ,” उहाँले भन्नुभयो ।
उक्त कार्यक्रममा जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेतीले कोभिड–१९ र यसका विरुद्धमा सहजीकरण गर्नुभएको थियो । सो क्रममा उहाँले भान्छामा पाक्ने खानाले नै हरेक रोगसँग लड्न सक्ने क्षमता विकास गर्ने जानकारी दिनुभयो । “दाल, भात, तरकारीले नै रोगसँग लड्ने क्षमता बढाउँछ, चाउमिन, मःम लगायत पत्रु खाना हुन्,” उहाँले भन्नुभयो ।
त्यस्तै राष्ट्रिय परोपकार महासङ्घका संस्थापक कमलनयन गौतमले युवा र समाजसेवाका बारेमा सहजीकरण गर्नुभएको थियो ।