मिर्गौला पीडितलाई साढे छ लाख सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मिर्गौला पीडितलाई साढे छ लाख सहयोग

    खबरपुञ्ज संवाददाता

    ३ आश्विन २०७७, आईतवार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–१४ निवासी दुवै मिर्गाैला पीडित सन्तोष राना मगरलाई साढे ६ लाख भन्दा बढी आर्थिक सहयोग प्रदान गरिएको छ । सन्तोष बचाउ अभियान मार्फत् देश तथा विदेशबाट प्राप्त भएको रु ६ लाख ५८ हजार ६ सय २४ पीडितको उपचारका लागि हस्तान्तरण गरिएको हो ।

    सन्तोष बचाउ अभियानका संयोजक युवराज आलेले वैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपाली, जिल्लाभित्रकै विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट सहयोग रकम सङ्कलन गरिएको जानकारी दिनुभयो ।

    उहाँका अनुसार सन्तोषको उपचारका लागि जापानमा बस्ने केशवटारवासीहरुले रु दुई लाख सहयोग गरेका छन् । “मिर्गौला पीडित सन्तोषको बारेमा जानकारी पाएपछि उनको उपचारका लागि आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन ग¥यौ, उक्त अभियानमा सबैले सहयोग गरिदिनुभयो,” आलेले भन्नुभयो, “सङ्कलन भएको रकमले पीडितको उपचारमा सहयोग पुग्ने विश्वास लिएका छौ ।” रानाको मिर्गौला प्रत्यारोपणका लागि सङ्कलन गरिएको रकमले पुग्ने भएपछि हाललाई उक्त अभियान स्थगित गरिएको छ ।

    अमेरिकामा ६ लाख भन्दा बढी सङ्कलन

    मिर्गौला पीडित सन्तोषको उपचारका लागि अमेरिकामा पनि रु ६ लाख भन्दा बढी रकम सङ्कलन भएको छ । न्युयोकमा आशिष थापा र कुलदीप राना मगरको पहलमा दुई हजार ६ सय ८१ डलर र टेक्सासमा भीम थापाको पहलमा दुई हजार ७ सय ७० डलर सङ्कलन भएको छ । टेक्सासमा रहनुभएका भीम थापाले जिल्लावासी युवकलाई परेको पीडामा सघाउन अमेरिकामा रहेका नेपालीहरुबाट रकम सङ्कलन गरिएको जानकारी दिनुभयो ।

    गत वर्षदेखि दुवै मिर्गौलाले काम गर्न छाडेपछि रानाले पोखरास्थित फिस्टेल हस्पिटलमा डायलासिस गर्दै आउनुभएको छ । मिर्गौला प्रत्यारोपणका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले सन्तोषले सहयोगको अपिल गर्दै आउनुभएको थियो । प्राप्त रकमले अब मिर्गौला प्रत्यारोपणका लागि सहयोग पुग्ने भएकाले बाँच्ने आशा पलाएको सन्तोषले बताउनुभयो ।