२५ फरार प्रतिवादी एकैदिन पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    २५ फरार प्रतिवादी एकैदिन पक्राउ

    खबरपुञ्ज संवाददाता

    ३ आश्विन २०७७, आईतवार

    तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न अपराधमा सजाय पाएका २५ जना फरार प्रतिवादी एकै दिन पक्राउ गरेको छ । बहुविवाह, लागुऔषध, अंशवण्डा जग्गा अंश हक, कुटपिट, जालसाझी लगायतका मुद्दाका प्रतिवादीलाई आइतबार पक्राउ गरेको हो ।

    बहुविवाह मुद्दामा विसं २०७३ फागुन १७ गतेको अदालतको फैसलाले एक वर्ष कैद र रु १० हजार जरीवाना तोकिएका भानु नगरपालिका–१३ सम्जुरका ३० वर्षीय सुरेन्द्र श्रेष्ठ पक्राउ परेका छन् । उनी चार वर्षदेखि फरार सूचीमा थिए ।

    लागु औषध मुद्दामा विसं २०७७ वैशाख २ गतेको फैसलाले ६ महिना कैद र रु तीन हजार जरीवाना तोकिएका बन्दीपुर गाउँपालिका–१ नाहाला बस्ने किना परियार, लागुऔषध मुद्दामा २०७६ चैत १४ गतेको फैसलाले एक वर्ष दुई महिना कैद र रु ५२ हजार जरीवाना तोकिएका बन्दीपुर गाउँपालिका–१ का बहरुल अमिन मिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार लागुऔषध मुद्दामा फरार अन्य दुई, जुवा मुद्दामा फरार पाँच, घरेलु हिंसा मुद्दामा फरार एक, दुनियाबादी फौजदारी मुद्दामा फरार तीन, नाता कायम मुद्दामा फरार एक, अंशबण्डा जग्गा अंशहक कायम मुद्दामा फरार एक, सम्बन्ध बिच्छेद मुद्दामा फरार दुई, कुटपिट मुद्दामा फरार दुई, जालसाजी मुद्दामा फरार एक, डाँका मुद्दामा फरार चार जना पक्राउ परेका छन् ।

    पक्राउ परेका प्रतिवादीलाई रु ५० देखि रु ५२ हजारसम्म जरीवाना तथा दुई महिनादेखि एक वर्ष दुई महिनासम्म कैद सजायका लागि आइतबार नै जिल्ला अदालत पेश गरिएको छ ।