तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका–४ खर्साङका ४१ वर्षीय राजकुमार गुरुङको मृत्युको घटनामा प्रहरीले निजका छोरा विरुद्ध कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरेको छ । प्रहरीले गुरुङका छोरा २१ वर्षीय वीरमान गुरुङ विरुद्ध आज जिल्ला अदालत तनहुँबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेको हो ।
प्रहरीले गुरुङलाई असोज २ गते पक्राउ गरेको थियो । घटनासम्बन्धमा अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । मृतकको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको छ । प्रहरीले वीरमानका सालोलाई पनि पक्राउ परेकामा उनलाई भने छाडिएको छ ।
राजकुमार गुरुङको गत भदौ ३१ गते मृत्यु भएपश्चात् परिवारका सदस्यहरुले सोही दिन गुरुङको शव घर नजिकैको चिहानडाँडामा गाडेका थिए । आफ्नै परिवारका सदस्यले हत्या गरी गुपचुप रुपमा लुकाउन शव गाडेको आशङ्का सहित गोप्य सूचना पाएपछि प्रहरीले मृतक गुरुङको शव शुक्रबार उत्खनन् गरेको थियो ।