यस्ताे बन्दैछ बन्दीपुरमा ‘मिनी ग्रेटवाल’ (भिडियाे सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    यस्ताे बन्दैछ बन्दीपुरमा ‘मिनी ग्रेटवाल’ (भिडियाे सहित)

    खबरपुञ्ज संवाददाता

    ४ आश्विन २०७७, सोमबार

    तनहुँ : विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माण शुरुको भएको ‘मिनी ग्रेटवाल’ मा एघार सय मिटर पदमार्ग पर्खाल निर्माण सम्पन्न भएको छ । जिल्लाको मात्र नभई गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा परिचित बन्दीपुरमा गत आर्थिक वर्षदेखि पदमार्ग पर्खाल निर्माण शुरु भएको थियो ।

    गाउँपालिकामा नयाँ पर्यटकीय पूर्वाधार निर्माण गरी पर्यटक आकर्षित गर्न गाउँपालिकाले पदमार्ग पर्खालको काम शुरु गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । उहाँका अनुसार एक हजार एक सय मिटर पदमार्ग पर्खाल निर्माण सम्पन्न भएको र कोभिड–१९ र पटक–पटक भएको बन्दाबन्दीले काममा ढिलाई भएको छ ।

    एक हजार एक सय मिटर पदमार्ग पर्खाल निर्माणका लागि रु ७० लाख बजेट खर्च भएको छ । “पदमार्ग पर्खाल चार किमि लामो हुन्छ, अब दशै पछाडी लगत्तै पुनः काम शुरु गर्छौ,” थापाले भन्नुभयो, “बन्दीपुरमा नयाँ नयाँ पर्यटकीय पूर्वाधार निर्माण गरी समृद्ध गाउँपालिका निर्माणका लागि जुटेका छौ ।” पदमार्ग पर्खाल निर्माणका लागि बजेट अभाव भएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग रु पाँच करोड बजेट माग गरिएको छ ।

    बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट निर्माण शुरु गरिएको पदमार्ग पर्खाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिनेछ । डाँडामा सवारी साधन नपुग्ने भएकाले कामदारले निर्माण सामग्री बोकेरै लैजानुपर्ने बाध्यताका कारण निर्माण लागत महङ्गो परेको छ ।


    मुकुन्देश्वरी डाँडा तत्कालिन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो । उक्त पदमार्ग पर्खाललाई पनि ‘मुकुन्देश्वरी पर्खाल’ को नामाकरण गरिएको छ । पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ । मुकुन्देश्वरी डाँडामा सङ्ग्रहालय बनाउने लक्ष्य पनि राखिएको छ । “पदमार्ग पर्खालले राजा मुकुन्द सेन बसेको ठाउँको प्रचारसँगै बन्दीपुरको पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण योगदान दिने विश्वास गरेका छौ,” थापाले भन्नुभयो ।


    बन्दीपुरमा वार्षिक एक लाख भन्दा बढी पर्यटक भ्रमणका लागि पुग्ने गरेका छन् । पदमार्ग पर्खाल निर्माण सम्पन्न भएसँगै पर्यटकको सङ्ख्या अझै बढ्ने अनुमान छ । बन्दीपुरको पर्यटन प्रबद्र्धनका लागि गाउँपालिकाले शिशाको दृश्यावलोकन स्तम्भ निर्माणको तयारी पनि थालेको छ ।

    बन्दीपुरको विकासका लागि गुरुयोजना बनाएर नै अगाडी बढेको अध्यक्ष थापाले बताउनुभयो । गाउँपालिकाले बन्दीपुरको बीस वर्षे गुरुयोजना तयार गरिसकेको छ । काठमाडौं, पोखरा र सौराहा जस्ता पर्यटकीय केन्द्रहरुको बीचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रहरुको पनि केन्द्रको रुपमा विकास गर्ने गाउँपालिकाको सोच रहेको छ । बन्दीपुर आफैमा एउटा प्राकृतिक सौन्दर्यता र पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकोले यसलाई संरक्षण, सम्बद्र्धन र विकास गरी यो क्षेत्रको प्रमुख आयस्रोत नै पर्यटन बनाउने योजना सहित गाउँपालिकाले कार्यक्रमहरु अगाडि बढाउने थापाले जानकारी दिनुभयो ।

    बन्दीपुरमा ढुङ्गाले छापेको बाटोबाट सवारी साधन जान निषेध गरिएको छ । कोलाहल, धुँवाधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकाहरुलाई बन्दीपुर उत्कृष्ट गन्तव्य हो । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै ८ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दिपुर पुगिन्छ । जहाँबाट मनोरम हिमश्रृङ्खला, पहाड, टाकुरा हेर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरी लगायतका हिमश्रृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।

    भक्तपुरे शैलीमा निर्माण गरिएके घरहरु, टुँडिखेल, थानीमाई, तिनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थलहरु यहाँ आउने पर्यटकहरुको पहिलो रोजाई बन्ने गरेको छ ।