दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्यो तनहुँ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्यो तनहुँ

    खबरपुञ्ज संवाददाता

    ६ आश्विन २०७७, बुधबार

    तनहुँ : पशुपालन गर्ने कृषकको सङ्ख्या बढेसँगै तनहुँ दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्न सफल भएको छ । कृषक पशुपालनतर्फ आकर्षित भएसँगै तनहुँमा दूध, अण्डा र मासुमा आत्मनिर्भर भएको हो ।

    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जिल्लामा दूध, अण्डा र मासुको माग भन्दा उत्पादन बढि भइरहेको जनाएको छ । केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले गत आर्थिक वर्ष ०७५÷७६ को तुलनामा ०७६÷७७ मा दूध, अण्डा र मासुको उत्पादन वृद्धि भएको जानकारी दिनुभयो । “जिल्लामा जति माग छ, त्यो भन्दा बढी उत्पादन भइरहेको तथ्याङ्कले देखाएको छ, यसले तनहुँ दूध, अण्डा र मासुमा आत्मनिर्भर भएको छ,” डा. श्रेष्ठले भन्नुभयो ।

    डा. श्रेष्ठका अनुसार आर्थिक वर्ष ०७६÷७७ मा ५० हजार ६ सय ८१ मेट्रिक टन दूध, एक करोड ६२ लाख ९४ हजार गोटा अण्डा र ४ हजार ६ सय ८८ मेट्रिक टन मासु उत्पादन भएको छ । आर्थिक वर्ष ०७५÷७६ मा ४९ हजार ५ सय ४३ मेट्रिक टन दूध, एक करोड ५२ लाख ५७ हजार गोटा अण्डा र ४ हजार ५ सय ५८ मेट्रिक टन मासु उत्पादन भएको थियो ।

    जिल्लामा २९ हजार ४ सय १९ मेट्रिक टन दूधको माग भएपनि माग भन्दा २१ हजार २ सय ६२ मेट्रिक टन बढी उत्पादन भइरहेको छ । ४ हजार ५ सय २६ मेट्रिक टन मासुको माग भएपनि एक सय ६२ मेट्रिक टन बढी उत्पादन भइरहेको छ भने एक करोड ५५ लाख १७ हजार गोटा अण्डाको माग भएपनि ७ लाख ७६ हजार गोटा बढी उत्पादन भइरहेको छ ।

    विज्ञ केन्द्रका अनुसार तनहँुमा उत्पादित दूधमा भैसीको योगदान बढि रहेको छ । जिल्लामा १ लाख ४० हजार ७ सय ४७ भैसी, ९६ हजार ६ सय ८ गाईपालन गरिएको छ । त्यस्तै ८ सय ९३ भेडा, ५ लाख १२ हजार २४ बाख्रा, ५ लाख ४८ हजार ५ सय ८२ कुखुरा, १ हजार ३ सय ८२ हाँस, ७९ हजार १ सय ८० बङ्गुरपालन गरिएको छ ।

    जिल्लामा १ सय ९४ गाई फार्म, ६८ भैसी, २ सय ९३ बाख्रा, ९८ वटा बङ्गुर, २ सय ४२ कुखुरा, ४६ माछाफार्म दर्ता भएर सञ्चालित छन् । युवालाई पशुपालनमा आकर्षित गराउन अनुदान वितरण गर्ने, तालीम प्रदान गर्ने, प्राविधिक सहयोग गर्ने लगायतका काम विज्ञ केन्द्रले गर्दै आएको छ ।