कोभिड सङ्क्रमितको उपचार निःशुल्क गर्न काङ्ग्रेसको अपिल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोभिड सङ्क्रमितको उपचार निःशुल्क गर्न काङ्ग्रेसको अपिल

    खबरपुञ्ज संवाददाता

    ३ कार्तिक २०७७, मंगलवार

    तनहुँ : नेपाली काङ्ग्रेस तनहुँले कोभिड सङ्क्रमितको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । कोभिड सङ्क्रमितको उपचार नगर्ने सरकारको घोषणा पछि काङ्ग्रेसले उक्त निर्णय सच्याउँदै सङ्क्रमितको उपचार र परीक्षण निःशुल्क गर्ने व्यवस्था मिलाउन माग गरेको हो ।

    जिल्ला सचिव विश्वनाथ बास्तोलाले मङ्गलबार प्रेस विज्ञप्ती सार्वजनिक गर्दै नागरिक दायित्वबाट सरकार पन्छिन नमिल्ने बताउनुभयो । कोरोना महामारी नियन्त्रण नभएसम्म सांसद विकास कोष र फजुल प्रशासनिक खर्च कटौटी गरी जनताको जीवन जोगाउने अभियानमा सरकार लाग्नुपर्ने बास्तोलाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

    विज्ञप्तीमा भनिएको छ, “देशमा कोरोना महामारी उच्चतम जोखिमतर्फ बढिरहेको र तत्काल नियन्त्रणमा आउने सम्भावना नरहेको अवस्थामा आफ्ना नागरिकको स्वास्थ्य सुरक्षालाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्नेेमा कोरोना महामारीको उपचार व्यक्ति स्वयंले आफ्नै खर्चमा गनुपर्ने भनि नागरिक प्रतिको दायित्वबाट विमुख हुने गरि वर्तमान सरकारले गरेको निर्णय अत्यन्त गैर जिम्मेवार र खेदजनक छ ।”

    सङ्घीय सरकारले आफ्नो कर्तव्य बिर्सिएर उक्त निर्णय नसच्चाएको अवस्थामा समेत आफ्ना नागरिकहरुको कोभिड–१९ को परीक्षण र उपचार निशुल्क रुपमा गर्ने व्यवस्था मिलाउन काङ्ग्रेसले गण्डकी प्रदेश सरकार र स्थानीय सरकारहरुलाई अपिल गरेको छ । नागरिकहरुको स्वास्थ्य सुरक्षाको अधिकार स्थापित गरि निशुल्क उपचारको व्यवस्था गर्न थप दबाबका कार्यक्रम गर्न नेपाली काङ्ग्रेसलाई बाध्य नपार्न चेतावनी दिइएको छ ।