दुई थान पेस्ताेल र वन्यजन्तुसँग सम्बन्धित सामग्री सहित पक्राउ परे अशाेक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दुई थान पेस्ताेल र वन्यजन्तुसँग सम्बन्धित सामग्री सहित पक्राउ परे अशाेक

    खबरपुञ्ज संवाददाता

    ३ कार्तिक २०७७, मंगलवार

    तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँले हतियार र वन्यजन्तुसँग सम्बन्धित सामग्री सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका–६ बस्ने ज्यामिरेस्वाँरा बस्ने ४० वर्षीय अशोक गुरुङ रहेका छन् ।

    साेही ठाउँका वीरेन भन्ने वीरेन्द्र गुरुङ र अशाेकले अवैध रुपमा हातहतियार लिएर आतङ्कित बनाउने गरेकाे सर्वसाधारणकाे गुनासाे थियाे । इलाका प्रहरी कार्यालय बन्दीपुर, इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेको टोलीले गुरुङलाई मङ्गलबार घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । प्रहरीले गुरुङको घरबाट दुई थान पेस्तोल सहित वन्यजन्तुसँग सम्बन्धित सामग्री बरामद गरेको छ ।

    घर भित्र लुकाई राखेको अवस्थामा ९ एमएमको अटो पेस्तोल, ७.५ इन्च लम्बाई र ५.५ चौडाई भएको म्याग्जिन र सोही म्याग्जिनमा रहेको एक राउण्ड गोली, ७ इन्च लम्बाई र ५ इन्च चौडाई भएको म्याग्जिन सहितको एक थान पेस्तोल बरामद गरिएको प्रनाउ तिमिल्सिनाले जानकारी दिनुभयो ।

    साथै सुुटकेश भित्र लुकाई राखेको जङ्गली जनावरको छाला जस्तो देखिने वस्तुको पानको पात आकारमा बीचमा ॐ लेखेको ५.५ इन्च लम्बाई र ४ इन्च चौडाईको वस्तु, जङ्गली जनावरको छाला जस्तो देखिने ६ इन्च लम्बाई र २.५ इन्च गोलाईको वस्तु, जङ्गली जनावरको छाला जस्तो देखिने ७ इन्च लम्बाई र १.५ इन्च गोलाई भएको वस्तु, जङ्गली जनावरको छाला जस्तो देखिने १० इन्च लम्बाई र २.५ इन्च गोलाई भएको वस्तु, जङ्गली जनावरको छाला जस्तो देखिने भि आकारको वस्तु, जङ्गली जनावरको सिङ जस्तो देखिने एक फिट लम्बाई, फेद गोलाई ४.५ इन्च र टुप्पाको गोलाई १ इन्च भएको वस्तु, जङ्गली जनावरको सिङ जस्तो देखिने एक फिट ३ इन्च लम्बाई फेदको गोलाई ३ इन्च, टुप्पोको गोलाई १.५ इन्च भएको वस्तु बरामद गरिएको प्रहरीले जनाएको छ । साथै सुटकेशभित्र पोका पारेर राखिएको ५० ग्राम गाजा समेत बरामद भएको प्रहरीले जनाएको छ । प्रनाउ तिमिल्सिनाका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।