पर्यटकीय गन्तव्य प्रबद्र्धन गर्दै पदयात्रा (फाेटाे फिचर)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पर्यटकीय गन्तव्य प्रबद्र्धन गर्दै पदयात्रा (फाेटाे फिचर)

    खबरपुञ्ज संवाददाता

    २९ पुष २०७७, बिहीबार

    तनहुँ : तनहुँको भीमाद नगरपालिका–९ मा रहेका पर्यटकीय गन्तव्यहरुको प्रबद्र्धन गर्दै प्रचारप्रसार गर्ने उद्देश्यले बिहीबार पदयात्रा गरिएको छ । कोभिड–१९ को प्रभावले रोकिएका पर्यटकीय गतिविधिलाई अगाडी बढाउने उद्देश्यले पाथर्दी सामुदायिक घरबास व्यवस्थापन समितिले पदयात्र सम्पन्न गरेको हो ।

    भीमाद नगरपालिका–६ स्थित भीमाद बजारबाट शुरु पदयात्रा पाथर्दीमा पुगेर टुङ्गिएको छ । पदयात्राको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पर्यटनलाई आर्थिक उपार्जनको माध्यम बनाउनुपर्नेमा जोड दिनुभयो । मन्त्री गुरुङले पर्यटनबाटै समृद्धि सम्भव रहेकाले प्रदेश सरकारले पनि पर्यटन प्रबद्र्धनका लागि कार्यक्रम बनाएको बताउनुभयो ।

    कोभिड–१९ को प्रभावका कारण रोकिएका पर्यटन गतिविधि सुचारु गर्नका लागि पदयात्राको आयोजना गरिएको घरबास व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आलेले जानकारी दिनुभयो । पदयात्रामा एक सय ५० भन्दा बढीको सहभागिता रहेको थियो ।

    “कोभिडले पर्यटनका सबै गतिविधि रोकिए, अब विस्तारै पर्यटनका कार्यक्रम सञ्चालन गर्ने उद्देश्य स्वरुप वडामा भएका पर्यटकीय गन्तव्यको प्रचारका लागि पदयात्रा गरेका हौ,” उहाँले भन्नुभयो । पदयात्राका क्रममा सोही वडामा रहेको सिद्धगुफाको पनि भ्रमण गरिएको छ । एक सय नयाँ पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत गुफामा विभिन्न पूर्वाधार निर्माण गरिएको छ । कोभिड–१९ कै समयमा गुफा क्षेत्रमा शौचालय, प्रतिक्षालय र रेलिङ निर्माण गरिएको छ । पूर्वाधार निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु २५ लाख उपलब्ध गराएको थियो ।

    पदयात्रामा पुग्ने पदयात्रीलाई सोही ठाउँमा रहेको पाथर्दी सामुदायिक घरबासमा बास बस्ने व्यवस्था मिलाइएको छ । पाथर्दी गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री नमूना वातावरणमैत्री कृषि गाउँ हो ।