चुनाव आयो भन्दैमा अहिल्यै हतार गर्न हुन्न : पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चुनाव आयो भन्दैमा अहिल्यै हतार गर्न हुन्न : पौडेल

    खबरपुञ्ज संवाददाता

    १ माघ २०७७, शुक्रबार

    तनहुँ : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटनको मुद्दामा न्यायधीशहरुले देशको हितमा निर्णय गर्नेमा विश्वस्त रहेको बताउनुभएको छ । प्रजातन्त्र सेनानी तनहुँको शुक्लागण्डकी नगरपालिका–४ निवासी स्व. एकनारायण खनालको नवौ पुण्यतिथिमा आज आयोजित शोकसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले देशलाई अस्थिरताको भूमरीबाट बचाउन संसद पुनस्र्थापन हुनुपर्ने जिकिर गर्नुभयो ।

    वरिष्ठ नेता पौडेलले संविधान बमोजिम नै अदालतमा विचाराधीन मुद्दामा फैसला हुनेमा सबै लोकतन्त्रवादी विश्वस्त रहेको बताउनुभयो । मुलुकमा अस्थिरता कायम गरेर विकास रोक्ने षड्यन्त्र भएको आरोप लगाउँदै वरिष्ठ नेता पौडेलले त्यसलाई चिर्न आवश्यक रहेकामा जोड दिनुभयो ।

    चुनावमा जान काङ्ग्रेसलाई कुनै हतार नभएको बताउँदै पौडेलले भन्नुभयो, “अब चुनाव आयो, काङ्ग्रेस ठूलो पार्टी बन्छ भनेर चुनावमा जान हतार गर्नुहुँदैन । काङ्ग्रेस स्वार्थका लागि लड्ने पार्टी होइन ।” संविधान बचाएर त्यही संविधान बमोजिम चुनाव जान काङ्ग्रेस तयार रहेको पौडेलको भनाई थियो । “चुनाव त पञ्चायतकालमा पनि हुन्थ्यो, त्यस्तो चुनाव वहिष्कार गर्दै आएका हौ,” पौडेलले भन्नुभयो ।

    जनताले विश्वास गरेर कम्युनिष्टलाई बहुमत दिएपनि जनताको विश्वासमाथि घात गर्ने काम भएको पौडेलले आरोप लगाउनुभयो ।