निर्वाचन लोकतन्त्रको प्राण हो : केन्द्रीय सदस्य भट्टराई (भिडियाे सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निर्वाचन लोकतन्त्रको प्राण हो : केन्द्रीय सदस्य भट्टराई (भिडियाे सहित)

    खबरपुञ्ज संवाददाता

    २ माघ २०७७, शनिबार

    तनहुँ : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले निर्वाचन लोकतन्त्रको प्राण भएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस व्यास नगर समितिले शनिबार दमौलीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य भट्टराईले काङ्ग्रेस कहिल्यै पनि निर्वाचनबाट नभाग्ने प्रष्ट पार्नुभयो ।

    संसद विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले अदालतले गर्ने फैसला काङ्ग्रेसलाई स्वीकार्य हुने उहाँले बताउनुभयो । “न्यायिक सर्वोच्चताको कायम गरेर अगाडी बढ्न काङ्ग्रेस सदैव तयार छ,” उहाँले भन्नुभयो, “मुद्दाको टुङ्गो नलागेकाले काङ्ग्रेसको धारणा यही हो भनेर भन्ने अवस्था छैन ।” “सर्वोच्च अदालतले जे सुकै निर्णय गरोस्, हाम्रो कुरा यो हो भनेर प्रचण्ड र माधव नेपालले पनि भन्नुभएको छैन भने काङ्ग्रेसलाई अहिल्यै हतार किन ?” उहाँले भन्नुभयो ।

    नेता भट्टराईले संसद पुनस्र्थापना पनि नहुने र निर्वाचन पनि नहुने हो मुलुक संवैधानिक सङ्कट उत्पन्न हुने धारणा व्यक्त गर्नुभयो । संविधान मिचिएकाले पुनस्र्थापना र निर्वाचनले मात्रै त्यसलाई सही मार्गमा ल्याउन सक्ने उहाँको भनाई थियो । कम्युनिष्ट पार्टीका नेताहरुको पदको लोभका कारण अहिलेको स्थिति सिर्जना भएको उहाँले आरोप लगाउनुभयो । “प्रचण्डलाई प्रधानमन्त्री, झलनाथ खनाललाई राष्ट्रपति बन्ने लोभका कारण उहाँहरुले आफ्नै सरकार ढलाउने खेल खेल्नुभयो, जसकारण आजको स्थिति पैदा भएको छ,” उहाँले भन्नुभयो ।

    कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सचिव विश्व बास्तोला, नगरसभापति शान्तिरमण वाग्ले, राष्ट्रियसभा सदस्य प्रकाश पन्थ, प्रदेश सांसद सरिता गुरुङ लगायतले बाेल्नुभएकाे थियाे । उक्त कार्यक्रमकाे सञ्चालन नगर सचिव माेहनकुमार श्रेष्ठले गर्नुभएकाे थियाे ।