घरेलु उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्छ : मन्त्री गुरुङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    घरेलु उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्छ : मन्त्री गुरुङ

    खबरपुञ्ज संवाददाता

    २ माघ २०७७, शनिबार

    तनहुँ : गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले घरेलु उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्ने आजको आवश्यकता रहेकोमा जोड दिनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँ तथा महिला उद्यमी विकास समितिको शनिबार आयोजित २१ औं साधारणसभाको उद्घाटन गर्दै मन्त्री गुरुङले घरेलु उत्पादनको बजारीकरणका लागि सरकारले वातावरण सिर्जना गर्ने बताउनुभयो ।

    “घरेलु उद्योगको प्रबद्र्धनका लागि आवश्यक नीति बनाउन सरकार प्रतिबद्ध छ,” मन्त्री गुरुङले भन्नुभयो, “घरेलु उद्योगमा प्रयोग हुने परम्परागत सीपलाई निखार्दै लैजानुपर्छ ।” सङ्घीय, प्रदेश र स्थानीय तहका सरकारले घरेलु उद्योगमैत्री नीति नियम निर्माण गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

    अर्थतन्त्र बलियो बनाउन व्यवसायीको योगदान अतुलनीय रहेको चर्चा गर्दै मन्त्री गुरुङले समाजवादी अर्थतन्त्र विकासका लागि सबैको योगदान हुनुपर्नेमा जोड दिनुभयो । “घरेलु तथा साना उद्योगले समाजवादी अर्थतन्त्र विकासका लागि योगदान दिन सक्छ,” उहाँले भन्नुभयो, “त्यसका लागि दक्ष जनशक्ति उत्पादनका लागि पनि प्रदेश सरकारले कार्यक्रम बनाएको छ ।”

    मन्त्री गुरुङले मागेर वा दान दिएर मुलुक कहिल्यै पनि समृद्ध बन्न नसक्ने चर्चा गर्दै माग्ने संस्कृति अन्त्य गर्नुपर्ने बताउनुभयो । “सबै उद्यमी बन्नुपर्छ, व्यवसायी बन्नुपर्छ तबमात्र मुलुक समृद्ध बन्न सक्छ,” उहाँले भन्नुभयो, “मगन्ते भएर मुलुक समृद्ध बनाउन सकिदैन ।” व्यवसायीले सरकारलाई कर छल्न नहुने र व्यवसायीले तिरेको करले नै देश बन्ने मन्त्री गुरुङको भनाई थियो ।

    कार्यक्रममा गण्डकी प्रदेशका सांसद रामबहादुर गुरुङले उद्योग व्यवसाय देश विकासको मेरुदण्ड भएको बताउनुभयो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका उपाध्यक्ष शोभा गुरुङले राज्यले प्रदान गर्ने सेवा सुविधा लिनका लागि व्यवसायी नै सचेत हुनुपर्नेमा जोड दिनुभयो । अर्का उपाध्यक्ष श्रीबहादुर कंडेलले घरेलु उद्योगबाट उत्पादित बस्तु बजारीकरणका लागि महासङ्घले पहल गर्दै आएको बताउनुभयो ।

    अधिवेशनले घरेलु तथा साना उद्योग महासङ्घ र महिला उद्यमी विकास समितिको नयाँ नेतृत्व चयन गर्नेछ ।