तनहुँ : तनहुँको व्यास नगरपालिका–७ कलेस्तीमा शनिबार आयोजित पाठेघरको क्यान्सर परीक्षण शिविरबाट एक सय भन्दा बढी महिला लाभान्वित भएका छन् । व्यास नगरपालिकाले आयोजना गरेको निःशुल्क शिविरमा एक सय १९ महिलाको स्वास्थ्य परीक्षण गरिएको हो ।
शिविरमा २५ जना महिलामा पाठेघरभित्र मासु पलाएको समस्या देखिएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङले जानकारी दिनुभयो । त्यस्तै सात जना महिलामा आङ खस्ने समस्या देखिएको छ भने पाँच जनालाई रिङ प्रयोग गर्न रिङ प्रदान गरिएको छ । त्यस्तै एक जना महिलालाई पाठेघरको क्यान्सरको पहिलो चरणको लक्षण देखिएको गुरुङले बताउनुभयो । अन्यमा सामान्य खालका सङ्क्रमण देखिएकाले औषधि प्रदान गरिएको छ ।
“मासु पलाउने बित्तिकै शल्यक्रिया गर्नैपर्छ भन्ने छैन, पाठेघरमा मासु पलाएका महिलाहरुलाई परामर्श र नियमित चेकजाँचको सल्लाह सुझाव दिइएको छ,” उहाँले भन्नुभयो । शिविरमा स्त्रीरोग विशेषज्ञ डा. सिर्जना शर्माले सेवा प्रदान गर्नुभएको थियो ।