आँबुखैरेनीको आठौ गाउँसभा : संशोधित बजेट पारित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीको आठौ गाउँसभा : संशोधित बजेट पारित

    खबरपुञ्ज संवाददाता

    ४ माघ २०७७, सोमबार

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले चालु आर्थिक वर्ष ०७७/७८ का लागि संशोधित कार्यक्रम तथा बजेट पारित गरेको छ । सोमबार सम्पन्न आठौ गाउँसभाले चालु आर्थिक वर्षका लागि रु ५८ करोड पाँच लाख बराबरको संशोधित बजेट पारित गरेको हो ।

    चालु आर्थिक वर्षमा सञ्चालन हुन नसकेका योजनाको बजेट कटौती गरिएको छ । गाउँसभाले दृश्यावलोकन स्तम्भका लागि विनियोजित रु दश लाख, राहतका लागि रोजगार कार्यक्रमका लागि विनियोजित रु २० लाख बजेट खर्चबाट कटौती गरी आम्दानीमा समावेश गरेको छ । त्यस्तै ढुङ्गा गिटीबाट रु एक करोड आम्दानी हुने अनुमान गरिएकामा उक्त आम्दानी रु एक करोड ५५ लाख हुने प्रक्षेपण गरिएको छ । गाउँसभाले जिल्ला कारागार कार्यालयमा कैदीबन्दीका लागि खाट व्यवस्थापनका लागि रु एक लाख सहयोग गर्ने निर्णय समेत गरेको छ ।

    गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जनप्रतिनिधिको कार्यकाल अन्तिम चरणमा आइसक्दा पनि आवधिक योजना निर्माण हुन नसकेकाले आवधिक योजना निर्माण गर्न लागिएको जानकारी दिनुभयो । थापाले गाउँपालिकामा बेरुजु समस्या देखिएकाले आफूहरुको कार्यकालमा बेरुजु शुन्य बनाउने लक्ष्य राखिएको सो अवसरमा बताउनुभयो ।

    गाउँसभाबाट ५० प्रतिशत अनुदानमा सञ्चालन हुने पशु सेवा कार्यक्रम कार्यान्वयन कार्यविधि २०७७ र पशुपंक्षी पकेट क्षेत्र प्रबद्र्धन सहयोग कार्यक्रम सञ्चालन निर्देशिका २०७७ छलफल सहित पारित गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

    साथै आवधिक योजना निर्माण गर्ने, एक वडा : एक पोखरी र एक चौतारी निर्माण गरी पर्यावरण प्रबद्र्धन गर्ने, बजार क्षेत्रमा हरित बेल्ट निर्माण गर्ने, क्रमागत योजनाका रुपमा सञ्चालन हुने गरी बहुउद्देश्यीय भवन निर्माण प्रारम्भ गर्ने, प्राप्त स्रोतका आधारमा प्राथमिकता प्राप्त योजना छनौट गरी कार्यान्वयन गर्ने निर्णय गाउँसभाले गरेको छ ।

    गाउँसभामा उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, वडाध्यक्ष, सदस्य, कार्यपालिका सदस्य एवं कर्मचारीकाे सहभागिता थियाे । गाउँसभामा चालु आर्थिक वर्षकाे यस अवधिकाे कार्यप्रगति विवरण समेत प्रस्तुत गरिएकाे थियाे ।