बालुवाटारको गेटमै बुझाइयो स्पष्टीकरण पत्र, तीन दिनभित्र जवाफ नदिए सदस्यबाट निष्कासन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बालुवाटारको गेटमै बुझाइयो स्पष्टीकरण पत्र, तीन दिनभित्र जवाफ नदिए सदस्यबाट निष्कासन

    खबरपुञ्ज संवाददाता

    ४ माघ २०७७, सोमबार

    काठमाडौं : नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरणको पत्र काटेको छ । दुई दिनअघि बसेको पार्टी स्थायी कमिटीको बैठकले ओलीलाई पार्टी विधानविपरीत गतिविधि जारी राखेको भन्दै थप कारबाहीस्वरूप स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । त्यही निर्णयअनुरूप पत्र बोकेर स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकाल प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

    उनीहरूले प्रधानमन्त्री ओलीलाई नभेटी बालुवाटारको गेटमा तैनाथ प्रहरीको हातमा पत्र थमाएर फर्किएका हुन् । “हामीले प्रधानमन्त्रीसँग समय लिएका थिएनौं । गेटमा पत्र पुर्‍याउने उद्देश्यले गएका थियौँ, त्यहाँ प्रहरीलाई भन्यौं । उनीहरूले भित्र सचिवालयमा खबर गरे । गेटमै छाडिदिनू भनेपछि हामीले पुनः प्रहरीहरूलाई सोध्यौं- दर्ता गर्ने चलन छ ? उनीहरूले छैन भन्ने जवाफको साथमा हामी नै लगेर पत्र दिन्छौं भनेपछि फर्कियौं,” पाण्डेले भन्नुभयाे ।

    के छ स्पष्टीकरण सोधिएको पत्रमा
    “कमरेड तपाईंले पार्टी अध्यक्षको गरिमामय पदमा रहँदा संविधानको ठाडो उल्लंघन गरी प्रतिनिधिसभा विघटनको कदम चालेर संविधान र लोकतन्त्रमाथि घात गरी देश र पार्टीमाथि गम्भीर आघात पुर्‍याएको, हाम्रो पार्टी नेकपाको अन्तरिम विधानको धारा ५६ (क)को (१), (२), (३), (४) र (५) उल्लंघन गरी पार्टी अनुशासन उल्लंघन गरेकाले पुस ७ गते बसेको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले पार्टी विधानको धारा ५६ को उपधारा (१) अनुसार पार्टी अध्यक्षबाट हटाउने निर्णय गरेको थियो,” स्पष्टीकरण पत्रमा भनिएको छ ।

    केन्द्रीय कमिटीले पार्टी अध्यक्षबाट हटाइसकेपछि पनि पार्टी निर्णयको उल्लंघन गर्दै आफूलाई पार्टी अध्यक्षकै रूपमा प्रस्तुत गरेकाले स्पष्टीकरण सोधिएको उल्लेख छ ।

    थप भनिएको छ, “आफूलाई अध्यक्ष भन्दै सार्वजनिक रूपमा प्रस्तुत गरेर पार्टीविरोधी गतिविधि जारी राख्नुभएकाले स्थायी कमिटीको यही माघ २ गते बसेको सातौं बैठकले पार्टी विधान, नीति, विधि, हितविपरीत गतिविधि गरिरहनुभएकाले तपाईंलाई पार्टीको साधारण सदस्यबाट किन निष्कासन नगर्ने भनी स्पष्टीकरण सोध्ने निर्णय गरेअनुरूप पार्टीको अन्तरिम विधानको धारा ५६ को (ख) को (१०) बमोजिम यो स्पष्टीकरण पत्र लेखिएको छ । पार्टी विरोधी गतिविधि गरिहनुभएका तपाईंलाई सदस्यबाट निष्कासन किन नगर्ने ? पत्र प्राप्त गरेको वा तपाईंको निवासमा टाँस गरेको मितिले तीन दिनभित्र स्पष्टीकरण दिनुहोला । तीन दिनभित्र चित्तबुझ्दो जवाफ नदिए तपाईंलाई थप कारबाही हुने बेहोरा सूचित गरिन्छ ।”

    पार्टी विधानको धारा ५६ (ख)को (१०) मा पार्टीका विरुद्ध शत्रुतापूर्ण गतिविधि गरेको वा धारा-११ (क) बमोजिम स्वतः पार्टी सदस्यता वा संगठित सदस्यता समाप्त हुने अवस्थामा बाहेक कुनै पनि सदस्य वा संगठित सदस्य वा कमिटीमाथि कारबाही गर्नुअघि स्पष्टीकरणको मौका दिइने उल्लेख छ । यसैले उनलाई सफाइको मौका दिइएको नेकपाले जनाएको छ ।

    स्राेत : बाह्रखरी डटकम