शुक्लागण्डकीको आठौ नगरसभा : दुई विधेयक पारित, सुकुम्बासी आयोगलाई बजेट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीको आठौ नगरसभा : दुई विधेयक पारित, सुकुम्बासी आयोगलाई बजेट

    खबरपुञ्ज संवाददाता

    ४ माघ २०७७, सोमबार

    दुलेगाैडा : तनहुँको शुक्लागण्डकी नगरपालिकाको आठौँ नगरसभा सोमबार सम्पन्न भएको छ । नगरसभाले दुई विधेयक पारित गर्दै विभिन्न निर्णय गरेको छ । कृषि उपज सङ्कलन केन्द्र सञ्चालन निर्देशिका र सार्वजनिक निजी साझेदारी ऐन पारित भएको नगरप्रमुख किसान गुरुङले बताउनुभयो ।

    शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा निर्माणाधीन कृषि उपज सङ्कलन केन्द्र सञ्चालनका लागि निर्देशिका बनाइएको उहाँले बताउनुभयो । ‘साझा सहकारीको जग्गामा कृषि उपज सङ्कलन केन्द्र निर्माण हुँदैछ । नगरपालिकाका सबै घरधुरीलाई शेयर सदस्यको स्वामित्व प्रदान गर्ने गरी निर्देशिका बनेको छ,’ नगरसभामा निर्देशिका प्रस्ताव पेश गर्दै मेयर गुरुङले भन्नुभयो । उहाँका अनुसार उक्त केन्द्रमा नगरपालिकाको ५१ प्रतिशत र नागरिकको ४९ प्रतिशत शेयर स्वामित्व रहनेगरी सञ्चालनमा ल्याईनेछ । यस्तै नगरको विकासमा सघाउनका लागी सार्वजनिक निजी साझेदारी ऐनको भूमिका महत्वपूर्ण हुने उहाँको भनाई छ ।

    सातौँ नगरसभाबाट पारित भएको बजेटमा समावेश नीति तथा कार्यक्रमको श्रोतान्तर र रकमान्तरसँगै योजनको संशोधन गर्ने निर्णय नगरसभाले गरेको प्रवक्ता खिमबहादुर कुमालले बताउनुभयो । नगरपालिकामा जटिल समस्याका रुपमा खडा भएको फोहोरमैला व्यवस्थापनका लागि पनि विभिन्न पालिकाले गरेको अभ्यास अनुसार अगाडी बढ्ने निर्णय भएको छ । फोहोरमैला व्यवस्थापनका लागि टेन्डर परेपनि अख्तियारमा उजुरी परेपछि कार्यन्वयन हुन सकेको छैन । यस्तै करारमा रहेका कर्मचारीको सेवा नविकरण गर्ने निर्णय समेत गरिएको छ ।

    सरकारले गठन गरेको भूमि सम्बन्धि समस्या समाधानका आयोगको लागि बजेट रकमान्तर गरिएको छ । लक्षित वर्ग अन्तर्गत विनियोजित आदिवासी जनजाति, दलित, मुस्लिम र महिला लक्षित कार्यक्रम सञ्चालनका लागी छुट्याईएको रकमबाट रु २० लाख आयोगका लागि रकमान्तर गरिएको प्रवक्ता कुमालले जानकारी दिनुभयो ।

    सभामा शुक्लागण्डकी–११ बिसौना राईपुरमा शिलन्यास गरिएको १५ शैय्याको अस्पतालको विषयमा समेत छलफल भएको छ । यो अस्पताल नगरपालिकाको सहमतिबिना बिसौनामा शिलान्यास भएको थियो । नगरवासीलाई पायक पर्ने स्थानमा अस्पताल बनाउनुपर्ने नगरसभा सदस्यहरुले जोड दिएका थिए ।