तनहुँ : विसं २०७२ वैशाखको भूकम्पले क्षति पुगेको तनहुँका दुई गुम्बा पुनर्निर्माणका लागि सम्झौता भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई तनहुँले दुई गुम्बा पुनर्निर्माणका लागि सम्झौता गरेको हो ।
भानु नगरपालिका–९ स्थित उर्गेन छोइलिङ गुम्बा र भानु नगरपालिका–२ स्थित बुद्ध हिमाली तमु समान गुम्बा पुनर्निर्माणका लागि सम्झौता भएको आयोजना कार्यान्वयन इकाई तनहुँका प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिनुभयो । आगामी असार १५ गतेभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।
“एक सय वर्ष भन्दा पुरानो भए केन्द्रबाट र एक सय वर्षभन्दा कम भए जिल्लाबाट पुनर्निर्माण गर्ने प्रावधान बमोजिम तनहुँका दुई गुम्बा पुनर्निर्माणका लागि सम्झौता भएको छ,” गुप्ताले भन्नुभयो, “छिट्टै काम शुरु गर्ने तयारी गरेका छौ ।”
रु ८७ लाख ७३ हजार ६ सय २० को लागतमा दुई गुम्बा पुनर्निर्माण हुन लागेको हो । त्यसका लागि पुनर्निर्माण प्राधिकरणले रु ६० लाख ८५ हजार ७४ अनुदान उपलब्ध गराएको छ भने बाँकी रकम स्थानीय तहले र स्थानीयवासीले जनश्रमदान गर्नुपर्नेछ ।
गुप्ताका अनुसार उर्गेन छोइलिङ गुम्बा रु ४४ लाख ६६ हजार २० को लागतमा पुनर्निर्माण हुन लागेको हो । त्यसका लागि पुनर्निर्माण प्राधिकरणले रु ३० लाख ९७ हजार चार सय ७४ उपलब्ध गराएको छ भने भानु नगरपालिकाले रु एक लाख ५० हजार र स्थानीयवासीले रु १२ लाख १८ हजार पाँच सय ४५ बेहोर्नेछन् ।
बुद्धहिमानी तमु समान गुम्बा रु ४३ लाख सात हजार ६ सयको लागतमा पुननिर्माण हुन लागेको हो । त्यसका लागि पुनर्निर्माण प्राधिकरणले रु २९ लाख ८७ हजार ६ सय उपलब्ध गराएको छ भने भानु नगरपालिकाले रु एक लाख ५० हजार र स्थानीयवासीले रु ११ लाख ७० हजार बेहोर्नेछन् ।
तस्वीर : गुगल