दमौली अस्पताललाई प्रदेश सरकारद्वारा जेनेरेटर प्रदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली अस्पताललाई प्रदेश सरकारद्वारा जेनेरेटर प्रदान

    खबरपुञ्ज संवाददाता

    ६ माघ २०७७, बुधबार

    तनहुँ : गण्डकी प्रदेश सरकारले तनहुँको सदरमुकामस्थित दमौली अस्पताललाई जेनेरेटर प्रदान गरेको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अस्पताललाई रु १२ लाख बराबरको जेनेरेटर उपलब्ध गराएको हो ।

    ४१५ भोल्टेजको जेनेरेटर प्राप्त भएपछि बिजुली गएको खण्डमा पनि अस्पतालमा सेवा दिन सहज हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो । आकस्मिक रुपमा बत्ती जाँदा अस्पतालमा सेवा प्रवाहका लागि समस्या हुने गरेकामा अब उक्त समस्या हट्ने अधिकारीले बताउनुभयो ।

    अस्पताल व्यवस्थापन समितिले अस्पताल सुधारका लागि विभिन्न प्रयासहरु गरिरहेको छ । अस्पतालमा नयाँ नयाँ सेवा थप हुने क्रम जारी छ । हालै मात्र अस्पतालमा थाइराइड उपकरण आइपुगेको छ । उक्त उपकरण सञ्चालनपछि जिल्लामै पहिलो पटक सरकारी अस्पतालमा थाइराइड सेवा परीक्षण हुनेछ । अस्पतालमा केही समय अगाडी चार थान भेन्टिलेटर आएको थियो । साथै अस्पतालमा दन्त सेवाका लागि डिजिटल एक्सरे मेसिन सञ्चालनमा ल्याइएको छ ।

    विसं २०५९ सालमा अस्पतालको रुपमा स्तरोन्नति भएको दमौली अस्पताल उपकरण थप्ने प्रयासमा जुटेको छ । गत महिना मात्रै अस्पतालमा एनेस्थेसिया उपकरण जडान गरिएको थियो । बिना अक्सिजन शल्यक्रिया गर्न सकिने रु २० लाख बराबरको उक्त मेसिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको थियो ।

    १५ शैय्याको अस्पताललाई ५० शैय्यामा स्तरोन्नतिका लागि प्रदेश सरकार मातहत रहेका दुई सरकारी कार्यालयको जग्गा उपलब्ध गराइदिन मुख्यमन्त्रीसँग अनुरोध गरिएको छ । कृषि ज्ञान केन्द्रको स्वामित्वको जग्गामध्येबाट पाँच रोपनी र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्वामित्वको जग्गामध्येबाट आठ रोपनी जग्गा अस्पताललाई उपलब्ध गराउन अस्पताल व्यवस्थापन समितिको माग छ ।