अवैध घरेलु मदिरा नष्ट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अवैध घरेलु मदिरा नष्ट

    खबरपुञ्ज संवाददाता

    ६ माघ २०७७, बुधबार

    तनहुँ : अवैध मदिरा नियन्त्रण समिति तनहुँले बजार क्षेत्रबाट बरामद भएको अवैध मदिरा नष्ट गरेको छ । आन्तरिक राजश्व कार्यालय दमौलीका प्रमुख कर अधिकृत एवं समितिका संयोजक नारायण ढकाल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जनप्रतिनिधि लगायत व्यवसायीको उपस्थितिमा बुधबार अवैध मदिरा नष्ट गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालयले केही समय अगाडी बरामद गरेको ९५ लिटर घरेलु मदिरा आन्तरिक राजश्व कार्यालयको कार्यालय परिसरभित्र नष्ट गरिएको हो । आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत ढकालले भरपर्दो सूचनाका आधारमा अवैध मदिरा बरामद गर्न र अन्तशुल्क स्टीकरको वैधता परीक्षण गर्न विभिन्न निकायसँगको सहयोग र समन्वयमा बजार अनुगमन गर्ने जानकारी दिनुभयो ।

    बुधबार नै अवैध मदिरा नियन्त्रण समितिको बैठक सम्पन्न भएको छ । बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, व्यास नगरपालिका–२ का वडाध्यक्ष काशीराम श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र लगायतको उपस्थिति थियो ।

    अवैध मदिराको उत्पादन, सञ्चय तथा बिक्री वितरणबाट समाजमा विभिन्न किसिमका विकृति फैलने तथा इजाजतपत्र प्राप्त गरी उत्पादन तथा बिक्री हुने मदिराको खपतलाई समेत प्रतिकूल असर पर्न गई प्राप्त हुनुपर्ने राजस्व समेत गुम्न सक्ने अवस्थालाई मध्यनजर राखी समितिले प्रहरीको सहयोग र समन्वयमा बजार अनुगमन गर्ने, अवैध मदिरा उत्पादन, सञ्चय तथा बिक्री वितरण स्थलको खानतलासी गर्ने, त्यस्तो कार्यमा प्रयोग भएका यन्त्र, उपकरणलाई कव्जामा लिने, संलग्न व्यक्तिलाई पक्राउ गर्ने र यसका लागि आवश्यक रणनीति बनाउनेसम्मका कार्य गर्न सक्ने समितिले जनाएको छ ।