निर्वाचनको तयारी तीव्र, आयोगले सबै प्रदेश र स्थानीय तहमा तोक्यो सम्पर्क व्यक्ति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    निर्वाचनको तयारी तीव्र, आयोगले सबै प्रदेश र स्थानीय तहमा तोक्यो सम्पर्क व्यक्ति

    खबरपुञ्ज संवाददाता

    ६ माघ २०७७, बुधबार

    काठमाडौं: निर्वाचन आयोगले सरकारले घोषणा गरेको मितिमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न आवश्यक तयारीलाई तीव्रता दिएको छ।  निर्वाचनको तयारीको लागि आज निर्वाचन आयोगले सबै प्रदेश र ७५३ वटै स्थानीय तहमा एक/एक जना सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको छ।

    आयोगले तोक्ने सम्पर्क व्यक्तिले निर्वाचनसँग सम्बन्धित ऐन, नियम, निर्देशिकालगायतमा भएको व्यवस्था अनुसारको कार्यसम्पादन गर्ने जनाएको छ। 

    “स्थानीयस्तरमा मतदाता नामावली सङ्‍कलन तथा अद्यावधिक गर्ने, निर्वाचन तथा मतदाता शिक्षा कार्यक्रम, निर्वाचनसँग सम्बन्धित विभिन्न सूचना तथा सन्देशको सम्प्रेषण गर्नेलगायतका कार्यहरू सञ्चालन गर्न र आयोगबाट तोकिएका कार्यहरूमा आवश्यक सहयोग र समन्वयका लागि निर्वाचन आयोगले सबै प्रदेश र स्थानीय तहमा एक/एक जना सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको छ,” आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ। 

    उक्त निर्णयानुसार सबै प्रदेशमा निर्वाचनसम्बन्धी विषयमा आवश्यक समन्वय गर्न सम्बन्धित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव वा सो सरहका एकजना कर्मचारीलाई निर्वाचन सम्पर्क व्यक्ति तोकिनेछ। सम्पर्क व्यक्तिले आयोगलाई आवश्यक जानकारी दिनेछन्। 

    जानकारी गराउने व्यवस्थाका लागि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र स्थानीय तहमा शिक्षा वा सामाजिक विषयसँग सम्बन्धित शाखाको प्रमुखलाई निर्वाचन सम्पर्क व्यक्ति तोकिने विज्ञप्तिमा उल्लेख छ। यसको लागि आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गरिसकेको छ। साथै, प्रदेश र स्थानीय तहमा रहने सम्पर्क व्यक्तिको कार्यविवरणसमेत आयोगले स्वीकृत गरेको छ।