तनहुँ : तनहुँको देवघाटदेखि मुस्ताङको मुक्तिनाथसम्म जोड्ने छोटो दूरीको सडक हो शालिग्राम करिडोर लोकमार्ग । वर्षौ अगाडीदेखि यो लोकमार्गको चर्चा चलेपनि बजेट अभावले काम सुस्त गतिमा थियो । सङ्घीयता आएपछि प्रदेश सरकारको गौरवको योजनामा शालिग्राम करिडोरलाई महत्वका साथ राखेर काम अगाडी बढाइएको छ ।
यो वर्ष शालिग्राम करिडोरको तनहुँ खण्डमा कामले गति लिएको छ । लोकमार्गको बैडी–घिरिङ–देवघाट खण्डको २१.५ किलोमिटर सडक स्तरोन्नतिको काम दुई महिना अगाडी नै शुरु भइसकेको छ । घिरिङ गाउँपालिका–१ स्थित द्वपदी खोलामा पक्की पुल निर्माण समेत थालिएको छ ।
शालिग्राम करिडोर लोकमार्गमा पर्ने दुई खोलामा शुक्रबार एकैसाथ पक्की पुल शिलान्यास गरि निर्माण शुरु गरिएको छ । ऋषिङ गाउँपालिका–४ र ५ लाई जोड्ने गरी ज्वाला खोलामा र ऋषिङ–५ को रुपटार र पिपलटारलाई जोड्ने गरी लुम्दी खोलामा बन्ने पक्की मोटरेबल पुलको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले शिलान्यास गर्नुभयो ।
सो अवसरमा मन्त्री गुरुङले शालिग्राम करिडोर आसपासका स्थानीवासीयको जीवनस्तर उकास्न महत्वपूर्ण रहेको बताउनुभयो । “प्रदेश सरकारले यो लोकमार्गलाई गौरवको योजनामा समावेश गरेर प्राथमिकता दिएको छ,” उहाँले भन्नुभयो ।
पुल निर्माणको काम दु्रत गतिमा अगाडी बढाएर सम्झौता मितीभित्रै सम्पन्न गर्न मन्त्री गुरुङको निर्देशन छ । “समयमै काम सम्पन्न भएमा भुक्तानीका लागि प्रदेश सरकार तत्पर छ । काममा ढिलाई भयो भने बजेट व्यवस्थापनमा समस्या हुन्छ,” उहाँले भन्नुभयो । विकास निर्माणमा राजनीतिक आग्रह पूर्वाग्रह राख्न नहुने मन्त्री गुरुङको भनाई थियो ।
सङ्घीयताको कारण विकास निर्माण तीव्र गतिमा अगाडी बढेको उल्लेख गर्दै मन्त्री गुरुङले प्रतिनिधि सभा भएपनि गण्डकीमा नेकपाकै सरकार रहने र विकासको गति नरोकिने दावी गर्नुभयो । जनताको आवश्यकता पूरा गर्न सरकार सदैव तयार रहेको उहाँको भनाई छ ।
पूर्वाधार विकास कार्यालय तनहुँका अनुसार ज्वाला खोलामा २५ मिटर लामो र ८.४ मिटर चौडाको ओपन फाउण्डेसनको पुल बन्नेछ । आगामी असार २५ गते निर्माण सम्पन्न गर्ने गरी यती बिल्डर्स प्रालि ललितपुरलाई ठेक्का दिइएको कार्यालयका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिनुभयो । रु चार करोड २१ लाखको इष्टिमेट गरिएपनि रु तीन करोड २१ लाख एक हजार ६ सय ३७ मा ठेक्का लागेको छ ।
लुम्दी खोलाको पुल पनि ओपन फाउण्डेसनमै बन्नेछ । ५० मिटर लम्बाई र ८.४ मिटर चौडाईको पुल निर्माणका लागि वाइएसएस निर्माण सेवा सुर्खेतले रु पाँच करोड ५१ लाख ९२ हजार २ सय ४० मा ठेक्का सम्झौता गरेको ढुङ्गानाले जानकारी दिनुभयो । यो पुल आगामी भदौ १० गतेभित्र सम्पन्न गर्नुपर्ने म्याद तोकिएको छ ।
स्थानीयवासी लक्ष्मण श्रेष्ठले करिडोर निर्माणले गाउँमा विकासको लहर ल्याउनेमा विश्वस्त रहेको बताउनुभयो । उहाँले सडक पुलसँगै गाउँमा खानेपानी, सिंचाई र बिजुलीबत्तीको आवश्यकता रहेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “सिंचाईको मात्रै व्यवस्था भयो भने यहाँका सुख्खा फाँटहरु हराभर हुनेछन् । आफ्नै उत्पादनले खान पुग्ने थियो ।”