राष्ट्रिय परिचयपत्र : दश हजारको विवरण सङ्कलन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राष्ट्रिय परिचयपत्र : दश हजारको विवरण सङ्कलन

    खबरपुञ्ज संवाददाता

    १० माघ २०७७, आईतवार

    तनहुँ : राष्ट्रिय परिचयपत्रका लागि तनहुँ जिल्लामा दश हजार जनाले विवरण दर्ता गराएका छन् । विसं २०७६ साउन ६ गतेदेखि शुरु भएको दर्ता अभियान अन्तर्गत चालु आर्थिक वर्ष ०७७÷७८ को पुस मसान्तसम्म ९ हजार ९ सय ८८ जनाले विवरण दर्ता गराएका हुन् ।

    प्रमुख जिल्ला जिल्ला अधिकारी सागर आचार्यले यस अवधिमा चार हजार चार सय चार महिला र पाँच हजार पाँच सय ८४ पुरुषको विवरण सङ्कलन गरिएको जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलनका लागि दुई वटा स्टेशन स्थापना गरिएको छ । प्रजिअ आचार्यका अनुसार चालु आर्थिक वर्षको छ महिनाको अवधिमा चार हजार चार सय तीन जनाले नाम दर्ता गराएका छन् ।

    प्रशासन कार्यालयबाट नागरिकता बनाए लगत्तै सर्वसाधारणको विवरण दर्ताको व्यवस्था मिलाइएको प्रजिअ आचार्यले जानकारी दिनुभयो । “नागरिकता बनाउन आउने सबैलाई राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्न सहजीकरण गरिएको छ,” उहाँले भन्नुभयो ।

    परिचयपत्रका लागि आवेदन फाराम भर्दा १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकताको प्रमाणपत्र पाएका नागरिकले नामथर, जन्ममिति, लिङ्ग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नी नाम, बाजेको नाम उल्लेख गर्नुपर्छ । यस्तै फारममा औंलाछाप (१० वटा), आँखाको नानी, तस्वीर, राष्ट्रियता र हस्ताक्षर उपलब्ध गराउनुपर्छ ।

    पहिलो चरणमा गण्डकी प्रदेशका तनहुँ र स्याङ्जामा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण सङ्कलन शुरु भएको थियो । नेपाल सरकारबाट नेपाली नागरिकलाई प्रदान गर्ने सेवासुविधालाई राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध गर्नाका साथै सो प्रणालीबाट प्राप्त हुने तथ्याङ्क तथा अभिलेख नीति एवं योजना निर्माणमा प्रयोग हुनेछ । यसले व्यक्तिको राष्ट्रिय पहिचानपत्र र मतदाता परिचयपत्रका रुपमा काम गर्ने सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधार दिनेछ । सामाजिक सुरक्षा कार्डका रुपमा यही कार्ड प्रयोग हुनेछ । यसले सुरक्षा व्यवस्थापनका लागि सहयोगी अभिलेखको काम गर्नेछ ।

    अन्य सार्वजनिक सेवासँग राष्ट्रिय परिचयपत्र प्रणालीलाई आबद्ध गरेपछि सार्वजनिक सेवा प्रदायक निकायले झन्झटरहित, छोटो समय र कम लागतमा सेवा प्रदान गर्न सम्भव हुनेछ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्म, मृत्यु, बसाइँसराइ तथा अन्य कारणबाट व्यक्तिगत सूचनामा परिवर्तन भएमा सोही अनुसारको अभिलेख व्यवस्थापन गर्ने प्रणालीको स्थापना तथा विकास गरेको छ ।

    राष्ट्रिय परिचयपत्र नम्बर र राष्ट्रिय परिचयपत्रलाई बहुउपयोगी प्रणालीका रुपमा सरकार र सरकारबीच (जिटुजी), सरकार र व्यवसायीबीच (जिटुबी) र सरकार र नागरिकबीच (जिटुसी) सेवा प्रदान गर्न उपयोग हुनेछ ।