तनहुँमा निर्वाचनको तयारी शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा निर्वाचनको तयारी शुरु

    खबरपुञ्ज संवाददाता

    १० माघ २०७७, आईतवार

    तनहुँ : सरकारले वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा गरेसँगै तनहुँमा निर्वाचनको तयारी शुरु गरिएको छ । जिल्ला निर्वाचन कार्यालय तनहुँले माघ १५ गतेदेखि मतदाता नामावली अद्यावधिक गर्न लागेको जानकारी दिएको छ ।

    कार्यालयले जिल्लाका दशवटै स्थानीय तहमा सहायक नाम दर्ता अधिकारी तोकिसकेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख महेश शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सहायक नाम दर्ता अधिकारीलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।

    गत पुस ५ गतेसम्ममा मतदाता नामावलीका लागि नाम सङ्कलन भई सोही मितिसम्मा अठार वर्ष पुगेका व्यक्तिहरुको नामावली अद्यावधिकका लागि सबै स्थानीय तहमा नामावली पठाइने शर्माले बताउनुभयो । जसबमोजिम मतदाता नामावली प्रकाशन, कुनै मतदाताको नाम वा विवरणमा कुनै त्रुटि भएमा सच्याउनका लागि निवेदन दिने, कसैले झुटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए प्रमाणसहित उजुरी दिने, दोहोरो नाम हटाउन निवेदन दिने लगायतका कार्य गरिनेछ ।

    विसं २०७४ को निर्वाचन अनुसार तनहुँमा दुई लाख ११ हजार तीन सय ९६ मतदाता रहेका थिए । गत पुस ५ गतेभन्दा अगाडी दुई लाख ३१ हजार चार सय २० मतदाता पुगेका छन् । “यसबीचमा २० हजार २४ मतदाता थपिएको अवस्था छ, अद्यावधिक सकेपछि वास्तविक मतदाता पहिचान हुनेछन्,” शर्माले भन्नुभयो । तनहुँमा गत निर्वाचनमा दश वटै स्थानीय तहमा गरी १ सय ३६ मतदान स्थल र २ सय ६५ मतदान केन्द्र रहेका छन् ।

    प्रमुख जिल्ला अधिकारी एवं मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिका अध्यक्ष सागर आचार्यले निर्वाचनको तयारीका लागि दुई पटक बैठक बसी आवश्यक तयारी शुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा मतदान केन्द्र हेरफेर र पुनरावलोकनका लागि छलफल भएपनि टुङ्गो लाग्न बाँकी छ । “राजनीतिक दलहरुका तर्फबाट मतदान केन्द्र थप्न प्रस्ताव आएको छ,” उहाँले भन्नुभयो, “माघ १३ र १४ गते पुनः बैठक बस्छौ, त्यसपछि केही टुङ्गो लाग्ला ।”