तनहुँ : तनहुँको व्यास नगरपालिका–५ चापाघाटमा महिलाहरुद्वारा सञ्चालित वेदव्यास ज्येष्ठ नागरिक आश्रमलाई थर्पु निवासी पदम गुरुङ र उहाँकी धर्मपत्नी मिरा गुरुङले रु एक लाख सहयोग गर्नुभएको छ । हाल बेल्जियम बस्नुहुने गुरुङ दम्पत्तिले आश्रम सञ्चालनमा सहयोग पुर्याउन रु एक लाख सहयोग गर्नुभएको हो ।
उक्त रकम उहाँहरुले आइतबार आश्रमकी अध्यक्ष सावित्री श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ । महिला दिदिबहिनी सक्रिय भएर सामाजिक सेवामा लाग्दा खुशी लागेको भन्दै गुरुङले सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । गुरुङले यस अगाडी पनि आश्रमलाई रु १५ हजार सहयोग गरिसक्नुभएको छ । बेल्जियमबाट पनि आगामी दिनमा थप सहयोग गर्ने गुरुङले प्रतिबद्धता जनाउनुभयो ।
आश्रमकी अध्यक्ष श्रेष्ठले मन्त्र जप्ने ओठभन्दा सेवा गर्ने हात पवित्र हुन्छन् भन्ने मूल मन्त्रका साथ स्थापित आश्रमलाई सहयोग गरेकामा गुरुङ दम्पत्तिप्रति आभार व्यक्त गर्दै सामाजिक काममा थप हौसला र प्रेरणा मिलेको बताउनुभयो । आश्रमकी सचिव निर्मला मल्लले सामाजिक काममा विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको निरन्तर सहयोगले आश्रम सञ्चालनमा सहयोग पुगेको उल्लेख गर्नुभयो ।
उक्त कार्यक्रममा तनहुँ उद्योग वाणिज्य सङ्घका महासचिव इमकुमार मल्ल, भूपू सैनिक क्लवका अध्यक्ष क्या. सुरज मल्ल, नेवा खल तनहुँका अध्यक्ष क्या. तारालाल मल्ल, छङ्गेली नेवा खलका अध्यक्ष सुकनारायण मल्ल, आश्रमकी उपाध्यक्ष शकुन्तला आले, सहसचिव सरु श्रेष्ठ, कोषाध्यक्ष अरुणा श्रेष्ठ लगायतको उपस्थिति थियो ।