दुवै नेकपालाई आधिकारिक नमान्ने निर्वाचन आयोगको निर्णय, पहिलेकै पार्टी यथावत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    दुवै नेकपालाई आधिकारिक नमान्ने निर्वाचन आयोगको निर्णय, पहिलेकै पार्टी यथावत

    खबरपुञ्ज संवाददाता

    १० माघ २०७७, आईतवार

    काठमाडौँ : निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को साबिककै विवरण कायम रहेको जानकारी दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने निर्णय गरेको छ। विवरण हेरफेर, संशोधन, परिवर्तन हुन सक्ने नदेखिएको हुँदा साबिककै विवरण कायम रहेको जानकारी दुवै अध्यक्षलाई दिने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयाे ।

    आइतबार बसेको आयोगको पदाधिकारी बैठकले ओली र दाहाल- नेपाल समूहले गरेको फेरबदललाई नमान्ने निर्णय गरेको हो । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को धारा २५ को ५ र ६, नेकपाको अन्तरिम विधान २०७५ र संविधानको धारा धारा २९९ बमोजिम निर्णय लिइएको जनाइएको छ ।

    ओली र दाहाल-नेपाल समूहले आफू आधिकारिक भएको भन्दै दर्ता गरेको निवेदन उपर छलफल गर्दै आयोगको बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस अनुसार पुस ५ मा प्रतिनिधिसभा विघटन भएसँगै दुबै समूह अलग–अलग भइ पार्टीका गतिविधिलाई तीव्रता दिँदै आएका छन्। दाहाल-नेपाल समूहले आफूहरुले नेकपाको मान्यता पाउनुपर्ने दाबी गरिरहेकै छन् भने अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पनि आफू नै आधिकारिक र मूल पार्टी रहेको र अर्को समूह फुटेर गएको बताउँदै आएका छन्।