आफ्नै भवनबाट सेवा प्रवाह गर्ने अभियानमा आँबुखैरेनी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आफ्नै भवनबाट सेवा प्रवाह गर्ने अभियानमा आँबुखैरेनी

    खबरपुञ्ज संवाददाता

    १२ माघ २०७७, मंगलवार

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले प्रमुख प्रशासकीय भवन र वडा कार्यालयका भवन निर्माण कार्यलाई प्राथमिकता दिएको छ । आफ्नै भवनबाट सेवा प्रवाह गर्ने उद्देश्यका साथ गाउँपालिकाले प्रमुख प्रशासकीय भवन र वडा कार्यालयका भवन निर्माणलाई प्राथमिकता दिएको हो ।

    सोही बमोजिम निर्माण शुरु भएको प्रमुख प्रशासकीय भवनको काम ८० प्रतिशत सम्पन्न भएको छ । गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको काम फागुन मसान्तभित्र सम्पन्न हुने पमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो । रु तीन करोड ७७ लाखको लागतमा निर्माण शुरु भएको भवनमा रु एक लाख २५ हजार खर्च भइसकेको छ । “फागुन मसान्तभित्र निर्माण सकेर नयाँ भवनबाट सेवा प्रवाह गर्ने लक्ष्य राखेका छौ,” पोख्रेलले भन्नुभयो ।

    गाउँपालिकाले हाल कच्ची भवनबाट सेवा प्रवाह गरिरहेको छ । “साँघुरो भवनबाट सेवा प्रवाह गर्दा असहज भइरहेको स्थितिमा नयाँ भवन बनेपछि सहज हुनेछ,” उहाँले भन्नुभयो । नयाँ भवन निर्माण सम्पन्न भएपछि हाल कार्यालय रहेको ठाउँमा बहुउद्देश्यीय भवन निर्माण गर्ने सोच राखिएको छ । त्यसका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु एक करोड ५० लाख बजेट विनियोजन गरेको छ । “नपुग रकम आगामी वर्ष विनियोजन गर्छौ, कच्ची भवन भत्काएर बहुउद्देश्यीय व्यापारिक भवन निर्माण गर्ने गाउँपालिकाको सोच हो,” उहाँले भन्नुभयो ।

    गाउँपालिकाले विभिन्न वडा कार्यालयको भवन निर्माणलाई समेत तीव्रता दिएको छ । जसबमोजिम वडा नं १ र ५ को वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ भने वडा नं ४ को निर्माणाधीन अवस्थामा छ । त्यस्तै वडा नं २ को भवन निर्माणका लागि जग्गा एकिन गरिएको छ भने वडा नं ६ को डिपिआर तयार भएको छ ।

    वडा नं १ को भवन रु ७४ लाख ४२ हजार सात सयको लागतमा सम्पन्न भएको छ । वडा नं ४ को भवन रु ५२ लाख ४२ हजारमा निर्माणाधीन छ । भवनको काम ७० प्रतिशत सम्पन्न भएको छ । वडा नं ५ को भवन रु ५३ लाख ५० हजारमा निर्माण सम्पन्न भएको छ । वडा नं ६ का लागि रु ७० लाख बजेट अनुमानित गरिएको छ ।

    त्यस्तै गाउँपालिकाले रु ५४ लाखको लागतमा वडा नं १ मा आधारभूत स्वास्थ्य केन्द्र, रु ५४ लाखकै लागतमा वडा नं २ मा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण सम्पन्न गरेको छ भने वडा नं ४ मा रु ५० लाखको लागतमा आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि बोलपत्र सम्झौता गरेको छ ।

    गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले सबै वडा कार्यालयलाई सुविधासम्पन्न बनाउँदै जनतालाई सहज रुपमा सेवा दिने उद्देश्यमा गाउँपालिका रहेको जानकारी दिनुभयो । “निर्माण हुन बाँकी रहेका वडा कार्यालयको भवन पनि छिट्टै शुरु गर्छौ,” थापाले भन्नुभयो ।