तनहुँ : कोभिड–१९ विरुद्धको खोप तनहुँमा आइपुगेको छ । भारत सरकारले सहयोगस्वरुप नेपाल सरकारलाई केही दिन अगाडी कोरोना भाइरसको दश लाख मात्रा खोप उपलब्ध गराएको थियो ।
भारत सरकारले उपलब्ध गराएको खोप सरकारले जिल्ला जिल्लामा पठाउन शुरु गरेको छ । सरकारले जिल्लाका लागि पठाएको १८९ भायल खोप तनहुँमा आइपुगेको छ । उक्त खोप प्रमुख जिल्ला अधिकारी सागर आचार्यले दमौली अस्पतालका प्रमुख डा. सुनिल पौडेल र स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीलाई मङ्गलबार हस्तान्तरण गर्नुभयो ।
स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले स्वास्थ्यकर्मी, सरसफाईकमी, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी र एम्बुलेन्स चालकलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाइने जानकारी दिनुभयो । उहाँका अनुसार एक भायलबाट दश जनालाई खोप लगाउन सकिन्छ ।