तनहुँ : नेपाल पत्रकार महासङ्घ तनहुँ शाखामा थप दुई नयाँ पत्रकारिता पुरस्कार स्थापना भएको छ । पत्रकार महासङ्घ तनहुँ शाखाका पूर्व अध्यक्ष प्रदीप काफ्ले र संस्थापक सदस्य एवं वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले शाखामा पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको हो । शाखाको मङ्गलबार आयोजित बाह्रौ साधारणसभाका अवसरमा उहाँहरुले पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको हो ।
शाखाका पूर्व अध्यक्ष काफ्लेले स्वर्गीय पिता पुरुषोत्तम काफ्लेको स्मृतिमा रु एक लाख राशिको पुरुषोत्तम काफ्ले आर्थिक पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको छ । काफ्लेले रु एक लाख बराबरको चेक व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने मार्फत् शाखा अध्यक्ष ओमकार आचार्यलाई हस्तान्तरण गर्नुभयो ।
यसैगरी शाखाका साधारण सदस्य एवं वरिष्ठ अधिवक्ता वाग्लेले स्वर्गीय पिता चिरञ्जीवि वाग्ले र स्वर्गीय आमा हरिमाया वाग्लेको स्मृतिमा रु एक लाख ११ हजार एक सय ११ राशिको चिरनहरि पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको छ । वाग्लेले उक्त रकम बराबरको चेक व्यास नगरपालिकाका प्रमुख न्यौपाने मार्फत् शाखा अध्यक्ष आचार्यलाई हस्तान्तरण गर्नुभएको छ ।
काफ्लेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट कृषि र सहकारी क्षेत्रमा साथै वाग्लेको स्मृतिमा स्थापित पुरस्कार न्याय र वातावरणको क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गरिने शाखाका अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
यसअघि केही दिन अगाडी मात्रै शाखाका पूर्व अध्यक्ष मुक्तिनाथ खनालले स्व. श्रीमती भवानी खनालको स्मृतिमा रु दुई लाखको अक्षयकोष स्थापना गर्नुभएको थियो । पत्रकार महासङ्घ तनहुँ शाखामा यस अगाडी तीन वटा पत्रकारिता पुरस्कार सञ्चालनमा छ । व्यास नगरपालिका–७ कलेस्तीका रणबहादुर गुरुङले रु ५० हजारको सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको छ । व्यास नगरपालिका–४ दमौलीका भाग्यशाली ढुङ्गानाले रु एक लाखको टिकानिधी ढुङ्गाना स्मृति पत्रकारिता पुरस्कार र व्यास नगरपालिका–४ निवासी विघटित प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठले रु एक लाखको भर्लेली केबलबहादुर स्मृति पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको छ ।