ठूला मिडियाको लगानीको पारदर्शीता खोजी अभियान शुरु गर्छौ : महासचिव विष्ट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ठूला मिडियाको लगानीको पारदर्शीता खोजी अभियान शुरु गर्छौ : महासचिव विष्ट

    खबरपुञ्ज संवाददाता

    १३ माघ २०७७, मंगलवार

    तनहुँ : नेपाल पत्रकार महासङ्घका केन्द्रीय महासचिव रमेश विष्टले नेपालका ठूला सञ्चारमाध्यमका लगानीको पारदर्शीता खोजी गरिने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको मङ्गलबार दमौलीमा आयोजित साधारणसभालाई सम्बोधन गर्दै महासचिव विष्टले वर्षौसम्म आम्दानी गर्ने तर श्रमजीवि पत्रकारलाई तलब नदिने सञ्चारमाध्यमको पारदर्शीता खोजी गरिने बताउनुभयो ।

    “वर्षौसम्म व्यापार गरेर पैसा कमाउने तर कोभिड सङ्कटलाई देखाएर पत्रकारलाई तलब नदिने सञ्चारमाध्यम विरुद्ध आन्दोलन शुरु भएको छ,” उहाँले भन्नुभयो, “महासङ्घ सदैव श्रमजीवि पत्रकारको पक्षमा छ ।” महासचिव विष्टले पत्रकार महासङ्घ उन्नत पत्रकारिताको अभ्यासमा भन्दा पनि अन्य काममा भुल्नपरेको गुनासो गर्नुभयो । व्यावसायिक पत्रकारिता र नीतिको क्षेत्रमा सरकारले महासङ्घलाई सहयोग नगरेको विष्टको भनाई थियो ।

    विष्टले पत्रकारले राजनीति गर्न नहुने भन्दै तर राजनीति बुझ्न भने आवश्यक रहेको तर्क गर्नुभयो । नागरिक अधिकार विरोधी कदममा महासङ्घ मूखदर्शक भएर बस्न नसक्ने विष्टको भनाई थियो ।

    यस अघि साधारणसभाको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले नगरपालिका सदैव प्रेसमैत्री रहेको बताउनुभयो । शाखाका अध्यक्ष ओमकार आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, नविन कुइँकेल, प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, नेपाली काङ्ग्रेसका सचिव विश्व बास्तोला, नेकपाका कार्यालय सचिव राजेश्वर ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, नेपाल उद्याेग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, तउवासङ्घका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र लगायतले पत्रकारिता क्षेत्रका बारेमा धारणा राख्नुभएको थियो ।