तनहुँ : नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले न्यूनतम पारिश्रमिक सहितको नियुक्तिपत्र उपलब्ध गराउन माग गरेको छ । शाखाको मङ्गलबार सम्पन्न बाह्रौ साधारणसभाका अवसरमा जारी १२ बुँदे घोषणापत्र अनुसार तनहुँ जिल्लामा क्रियाशील सम्पूर्ण सञ्चारकर्मीलाई सञ्चारगृहहरुले न्यूनतम पारिश्रमिक सहितको नियुक्तिपत्र उपलब्ध गराउन माग गरेको हो ।
घोषणापत्रमा कोभिड १९ को प्रभावले रोजगारी गुमाएका पत्रकारहरुलाई पुर्नबहाली र पारिश्रमिक रोकिएकालाई भुक्तानी र पेशागत स्थायीत्वको लागि सञ्चारगृहसँग माग गरिएको छ । तनहुँ जिल्लाभित्र रहेका सबै स्थानीय तहहरुबाट प्रदान गरिने विज्ञापनलाई नेपाल पत्रकार महासङ्घ तनहुँ शाखामार्फत् जिल्लामा सञ्चालित सञ्चारमाध्यमहरुलाई समानुपातिक र एकद्वार प्रणालीबाट लागू गर्न माग गरिएको छ ।
मुलुकमा विद्यमान राजनीतिक सङ्कटको निदानको लागि वार्ता र संवादको माध्यमबाट समाधान गरी संवैधानिक रिक्तताको अन्त्य गर्न माग गर्दै घोषणापत्रमा पत्रकारिता पेशाको पेशागत सुदृढीकरण, शुद्धिकरण र सुरक्षाको ग्यारेण्टी गर्न माग गरिएको छ । घोषणापत्रमा पत्रकार कल्याणकारी कोष स्थापनाका लागि जिल्लास्थित सम्पूर्ण स्थानीय तह, सरकारी, निजी तथा नागरिक संघसंगठनहरुसँग सहयोगका लागि अपिल गरिएको छ ।
नेपाल पत्रकार महासंघ तनहुँ शाखाको बैठक तनहुँका दश वटै स्थानीय तहको समन्वय र सहकार्यमा पालैपालो आयोजना गर्ने व्यवस्था मिलाउन अनुरोध गर्दै हरेक स्थानीय तहमा दक्ष पत्रकार उत्पादन र ज्ञान, सीप, क्षमता अभिवृद्धिका लागि स्थानीय स्तरमै क्षमता विकास कार्यक्रम सञ्चालनका लागि सहयोग पु¥याउन स्थानीय तह तथा सरोकारवालाहरुसँग अनुरोध गरिएको छ ।
जिल्लाभित्र रहेका धार्मिक, सांस्कृतिक र पुरातात्विक क्षेत्रको संरक्षण गर्दै प्राकृतिक स्रोतसाधनमाथि भइरहेको अवैध उत्खनन् तत्काल रोक्न माग गर्दै तनहुँ जिल्लाको पर्यटन प्रबद्र्धनका लागि मानुङकोटदेखि पुलिमराङसम्म आयोजना गरिएको व्यास अल्ट्रा म्याराथन सफल बनाउन आ–आफ्नो सञ्चारमाध्यममार्फत् प्रचारप्रसार गरी सहयोग गर्न अनुरोध गरिएको छ ।
तनहुँको पत्रकारिता क्षेत्रको वृत्तिविकासमा योगदान पु¥याउन अक्षयकोष स्थापना गर्नुहुने रणबहादुर गुरुङ, भाग्यशाली ढुङ्गाना, कृष्णकुमार श्रेष्ठ, मुक्तिनाथ खनाल, कमलामोहन वाग्ले, प्रदीप काफ्लेलाई धन्यवाद ज्ञापन गर्दै पत्रकारिता पुरस्कार वितरणका लागि कार्यविधि तयार गर्न तनहुँ शाखालाई अनुरोध गरिएको छ ।
घोषणापत्र लेखन समितिमा शाखाका पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेलको संयोजकत्वमा पूर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराई, उपाध्यक्ष सोनी शर्मा, पूर्व सचिव बसन्त कंडेल र प्रदेश पार्षद् पवन पौडेल सदस्य रहेको समिति गठन गरिएको थियो ।