व्यास अल्ट्रा म्याराथनका लागि १६९ धावकको नाम दर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास अल्ट्रा म्याराथनका लागि १६९ धावकको नाम दर्ता

    खबरपुञ्ज संवाददाता

    १४ माघ २०७७, बिहीबार

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले शुक्रबार आयोजना गरेको चौथो अल्ट्रा म्याराथनका लागि १ सय ६९ धावकले नाम दर्ता गरेका छन् । प्रत्येक वर्षको सहिद दिवसको अवसरमा आयोजना हुने अल्ट्रा म्याराथनका लागि बिहीबारसम्म १ सय ६९ धावकले नाम दर्ता गराएका हुन् ।

    व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले नाम दर्ता गराएका धावकलाई बिहीबार नै रुटको बारेमा जानकारी दिनुका साथै अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । प्रतियोगितामा तनहुँ, लमजुङ, कास्की, म्याग्दी, पर्वत, काठमाडौ, सोलुखुम्बु, सिन्धुली, गोरखा, रुकुम लगायतका जिल्लाबाट धावकले नाम दर्ता गराएका छन् ।

    व्यास नगरपालिका–५ मानुङदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्मको ४४ किमि दूरीको म्याराथनको तयारी लगभग पूरा भएको श्रेष्ठले बताउनुभयो ।

    प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेले क्रमशः रु ८५ हजार ७७, रु ६५ हजार ७७, रु ५५ हजार ७७ र सान्त्वना पाँच जनाले रु १६ हजार ७७ नगद पुरस्कार पाउनेछन् । नगरपालिकाले यो पटक म्याराथनको पुरस्कार राशी वृद्धि गरेको हो । प्रथम, द्वितीय र तृतीय पुरस्कार राशीमा रु चार हजार एकका दरले वृद्धि गरिएको छ । गत वर्ष प्रथम, द्वितीय र तृतीय हुनेहरुले क्रमशः रु ८१ हजार ७६, रु ६१ हजार ७६ र रु ५१ हजार ७६ प्राप्त गरेका थिए ।

    धावकले नियम पालना गरे नगरेको चेकजाँच गर्नका लागि आठ ठाउँमा चेकविन्दु स्थापना गरिनेछ । व्यास नगरपालिका–४ व्यास रेन्ज पोष्ट, व्यास नगरपालिका–१० पिजनहिल खहरे, व्यास नगरपालिका–७ पाथ्रा मन्दिर, व्यास नगरपालिका–७ पातल सत्रसय, व्यास नगरपालिका–८ रिस्ती सोतीवेशी, व्यास नगरपालिका–८ सुनपोखरी, व्यास नगरपालिका–८ गाडापानी र व्यास नगरपालिका–८ पुलिमराङमा चेकविन्दु स्थापना गरिनेछ ।

    म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ । गत वर्षको म्याराथन सोलुखुम्बुका सुमन कुलुङले जित्नुभएको थियो । उहाँले ४४ किमि दूरी दुई घण्टा ५९ मिनेटमा पार गर्नुभएको थियो । प्रतियोगितामा कालिकोटका देवराज महतरा द्वितीय र भोजपुरका तीर्थ तामाङ तृतीय हुनुभएको थियो ।