तीन पालिका जोड्दै साइकल लेन निर्माण गर्न पहल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तीन पालिका जोड्दै साइकल लेन निर्माण गर्न पहल

    खबरपुञ्ज संवाददाता

    १४ माघ २०७७, बिहीबार

    तनहुँ : तनहुँको तीन स्थानीय तहलाई जोड्दै साइकल लेन निर्माणको पहल थालिएको छ । तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिकाले व्यास नगरपालिका र आँबुखैरेनी गाउँपालिकासम्म साइकल लेन निर्माणका लागि पहल गरेको हो ।

    व्यासको छाब्दीदेखि बन्दीपुरको रामकोट हुँदै आँबुखैरेनी गाउँपालिकाको छिम्केश्वरीसम्म साइकल लेन निर्माणका लागि पहल थालिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । “बन्दीपुर गाउँपालिकाले नौ किलोमिटर साइकल लेन निर्माण गरिसकेको छ,” उहाँले भन्नुभयो, “व्यासदेखि साइकल लेन निर्माण शुरु गरेर जिल्लाकै अग्लो स्थानमा रहेको छिम्केश्वरीसम्म साइकल लेन विस्तार गर्ने सोच राखेका छौ ।”

    साइकल लेन मार्फत् पर्यटन र संस्कृतिको प्रबद्र्धन गर्ने अभियान चलाइएको थापाले बताउनुभयो । “साइकल लेनले व्यासको प्रसिद्ध धार्मिक तीर्थस्थल छाब्दीवाराही, बन्दीपुरको रामकोट सामुदायिक घरबास, कोरिखा सामुदायिक घरबास लगायत अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई जोड्छ,“ थापाले भन्नुभयो, “यसले तीन पालिकाकै पर्यटन प्रबद्र्धनमा ठूलो सहयोग पुग्ने विश्वास लिएका छौ ।”

    बन्दीपुर गाउँपालिकाले रु ११ लाखमा नौ किलोमिटर साइकल लेन निर्माण सम्पन्न गरेको छ । बन्दीपुरदेखि बाहुनभञ्ज्याङसम्म रु तीन लाख र बन्दीपुरदेखि रामकोटसम्म रु आठ लाखमा साइकल लेन निर्माण गरिएको छ । साइकल लेन निर्माणका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत् विपन्न वर्गलाई रोजगारी दिइएको थियो । गाउँपालिकाका रोजगार संयोजक शरणसिं गुरुङले साइकल लेन निर्माणमा ४४ जनालाई रोजगारी दिइएको जानकारी दिनुभयो ।

    साइकल लेन निर्माण भएपछि बन्दीपुर गाउँपालिकाले साइकल प्रतियोगिता गर्ने तयारी गरेको छ । यसअगाडी डुम्रे बन्दीपुर दौड प्रतियोगिता हुँदै आएकामा अब साइकल प्रतियोगिताको तयारी गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

    गाउँपालिकाले विकासका लागि गुरुयोजना नै बनाएर नै अगाडी बढेको छ । गाउँपालिकाले बन्दीपुरको बीस वर्षे गुरुयोजना तयार गरिसकेको छ । काठमाडौं, पोखरा र सौराहा जस्ता पर्यटकीय केन्द्रहरुको बीचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रहरुको पनि केन्द्रको रुपमा विकास गर्ने गाउँपालिकाको सोच रहेको छ । बन्दीपुर आफैमा एउटा प्राकृतिक सौन्दर्यता र पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकोले यसलाई संरक्षण, सम्बद्र्धन र विकास गरी यो क्षेत्रको प्रमुख आयस्रोत नै पर्यटन बनाउने योजना सहित गाउँपालिकाले कार्यक्रमहरु अगाडि बढाउने गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिनुभयाे ।

    सोही बमोजिम गाउँपालिकाले वडा नं २ स्थित थानीमाई मन्दिरबाट पदमार्ग पर्खाल निर्माण शुरु गरिसकेको छ । चीनमा रहेको विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी पदमार्ग पर्खाल निर्माणको काम भइरहेको छ । उक्त पदमार्ग एक हजार एक सय मिटर सम्पन्न भइसकेको छ ।

    गाउँपालिकाले टुँडीखेलमा शिशाको ‘दृश्यावलोकन स्तम्भ’ निर्माण गर्ने योजना अगाडी सारेको छ । शिशाको ‘दृश्यावलोकन स्तम्भ’ का लागि करीब रु तीन करोड बजेट आवश्यक पर्ने अनुमान गरिएको थापाले जानकारी दिनुभयो । जमिनको सतहबाट पाँच फिट अग्लो टावर निर्माण गरेर दृश्यावलोकनको केन्द्र निर्माण गर्ने लक्ष्य राखिएको प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिनुभयाे ।

    बन्दीपुर गाउँपालिकाले तीन तहलाई जोड्दै साइकल लेन निर्माणको पहल थालेकामा व्यास नगरपालिकाले प्रतिबद्धता जनाएको छ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले व्यास नगरपालिकाको क्षेत्रमा साइकल लेन निर्माणका लागि नगरपालिका सकारात्मक रहेको बताउनुभयो ।