व्यास अल्ट्रा म्याराथनको उपाधि सेनाका महतरालाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास अल्ट्रा म्याराथनको उपाधि सेनाका महतरालाई

    खबरपुञ्ज संवाददाता

    १५ माघ २०७७, शुक्रबार

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले शुक्रबार आयोजना गरेको ४४ किलोमिटर अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लवका देवराज महतराले जित्नुभएको छ । व्यास नगरपालिका–५ मानुङदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्म आयोजित चौथो म्याराथनको उपाधि तीन घण्टा तीन मिनेट ५१ सेकेण्डमा पार गर्दै महतराले जित्नुभएको हो ।

    कालिकोट निवासी महतरा गत वर्ष आयोजित तेस्रो अल्ट्रा म्याराथनमा द्वितीय हुनुभएको थियो । म्याराथनमा सोलुखुम्बुका सुमन कुलुङ राई द्वितीय र रामेछाप निवासी त्रिभुवन आर्मी क्लवका बेदबहादुर सुनुवार तृतीय हुनुभएको छ । राईले उक्त दूरी तीन घण्टा आठ मिनेट एक सेकेण्डमा र सुनुवारले तीन घण्टा १० मिनेट पाँच सेकेण्डमा पार गर्नुभएको छ । द्वितीय हुने राई गत वर्षको विजेता हुनुहुन्छ ।

    भोजपुरका सविन तामाङ तीन घण्टा ३० मिनेट ५८ सेकेण्ड, बैतडीका नरेन्द्रसिंह रावत तीन घण्टा ३६ मिनेट १३ सेकेण्ड, रुकुमका दुर्गाराज बुढा तीन घण्टा ३६ मिनेट २६ सेकेण्ड, तनहुँ व्यासका प्रमिश गुरुङ तीन घण्टा ३७ मिनेट ४८ सेकेण्ड र गोरखाका सक्षम गुरुङ तीन घण्टा ३७ मिनेट ५९ सेकेण्डमा दुरी पार गर्दै सान्त्वना हुनुभयो । उहॉहरुले जनही नगद १६ हजार ७७ रुपैयाँ प्राप्त गर्नुभयो ।

    म्याराथन मानुङकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिएको थियो ।

    प्रतियोगितामा २० जिल्लाका १ सय ८० धावकको सहभागिता थियो । म्याराथनमा तनहुँका अतिरिक्त गोरखा, कास्की, लमजुङ, स्याङ्जा, सिन्धुली, बागलुङ, रुकुम, सोलुखुम्बु, गोरखा, पर्वत, काठमाडौ, धादिङ, म्याग्दी लगायतका जिल्लाबाट धावक सहभागी रहेको व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेले क्रमशः रु ८५ हजार ७७, रु ६५ हजार ७७, रु ५५ हजार ७७ र सान्त्वना पाँच जनाले रु १६ हजार ७७ नगद पुरस्कार प्राप्त गरेका छन् । नगरपालिकाले यो पटक म्याराथनको पुरस्कार राशी वृद्धि गरेको हो । प्रथम, द्वितीय र तृतीय पुरस्कार राशीमा रु चार हजार एकका दरले वृद्धि गरिएको छ । गत वर्ष प्रथम, द्वितीय र तृतीय हुनेहरुले क्रमशः रु ८१ हजार ७६, रु ६१ हजार ७६ र रु ५१ हजार ७६ प्राप्त गरेका थिए ।

    धावकले नियम पालना गरे नगरेको चेकजाँच गर्नका लागि आठ ठाउँमा चेकविन्दु स्थापना गरिएको थियो । व्यास नगरपालिका–४ व्यास रेन्ज पोष्ट, व्यास नगरपालिका–१० पिजनहिल खहरे, व्यास नगरपालिका–७ पाथ्रा मन्दिर, व्यास नगरपालिका–७ पातल सत्रसय, व्यास नगरपालिका–८ रिस्ती सोतीवेशी, व्यास नगरपालिका–८ सुनपोखरी, व्यास नगरपालिका–८ गाडापानी र व्यास नगरपालिका–८ पुलिमराङमा चेकविन्दु स्थापना गरिएको थियो ।

    गत वर्षको म्याराथन सोलुखुम्बुका सुमन कुलुङले जित्नुभएको थियो । उहाँले ४४ किमि दूरी दुई घण्टा ५९ मिनेटमा पार गर्नुभएको थियो । प्रतियोगितामा कालिकोटका देवराज महतरा द्वितीय र भोजपुरका तीर्थ तामाङ तृतीय हुनुभएको थियो ।