तनहुँ : तनहुँमा ७ सय ८ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । खोप अभियानको चौथो दिन शनिबारसम्म जिल्लाका विभिन्न स्थानीय तहका ७ सय ८ जनाले कोभिड विरुद्धको खोप लगाएका हुन् ।
शनिबार मात्रै एक सय ६० जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार माघ १९ गतेसम्म जिल्लाका १ हजार ६ सय ७९ स्वास्थ्यकर्मीलाई खोप लगाउने लक्ष्य छ । खोप लगाउनका लागि दमौलीमा तीन वटा खोप केन्द्र तोकिएको छ ।
गण्डकीमा १० हजारलाई खोप लगाइयो
गण्डकी प्रदेशमा शनिबारसम्म १० हजार २ सय ५५ जनालाई कोभिड विरुद्धको खोप लगाइएको छ । स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार गण्डकी प्रदेशमा कोरोना विरुद्धको खोप लगाउनेको कुल लक्ष्य १७ हजार ३ सय ९६ मध्ये ५८.९५ प्रतिशत प्रगति भएको छ । यस अवधिमा कोरोना विरुद्धको खोप लगाइसकेपछि कुनैपनि जटिल अवस्थाको अवाञ्छित घटनाहरु नभएको उहाँले बताउनुभयो ।
कास्कीमा ४ हजार एक सय चार, गोरखामा ७ सय ७, तनहुँमा ७ सय ८, नवलपुरमा ६ सय ४५, पर्वतमा ६ सय ४५, बागलुङमा ८ सय १८, मनाङमा १ सय ३९, मुस्ताङमा १ सय ३९, म्याग्दीमा ४ सय ९३, लमजुङमा एक हजार चार, स्याङ्जामा ८ सय ६१ जनालाई खोप लगाइएको छ ।