तनहुँ : अखिल नेपाल महिला सङ्घ तनहुँको संयोजकमा सविता रसाइली चयन हुनुभएको छ । शनिबार दमौलीमा सम्पन्न अगुवा कार्यकर्ता भेलाले रसाइलीको संयोजकत्वमा आयोजक कमिटी गठन गरेको हो ।
भेलाले आयोजक कमिटीको सहसंयोजकमा भगवती देउजा र सचिवमा बसुन्धरा घर्तीलाई चयन गरेको छ । भेलाले एक सय एक जनाको आयोजक कमिटी गठन गरेको छ ।
भेलामा अनेमसङ्घकी पूर्व उपाध्यक्ष टुका हमाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँका अध्यक्ष एवं विघटित प्रतिनिधि सभा सदस्य केदार सिग्देल, राष्ट्रिय सभा सदस्य एवं अनेमसङ्घ केन्द्रीय सदस्य भगवती न्यौपाने लगायतले वर्तमान राजनीतिक विषयमा धारणा व्यक्त गर्नुभएको थियो ।