तनहुँ : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पाँच दिने कार्यक्रम लिएर गृहजिल्ला तनहुँ आउँदै हुनुहुन्छ । जिल्लाका विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रममा सहभागी हुन वरिष्ठ नेता पौडेल सोमबार तनहुँ आउन लाग्नुभएकाे हाे ।
वरिष्ठ नेता पौडेलले सोमबार नै भातृ संस्थाहरुको समन्वयमा हुने विरोधसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । त्यस्तै माघ २० गते व्यास नगरपालिका–७ छापथोक, गैह्रीस्वाँरा, पोखरीछाप, बाँसपानी, टुटेपानी, चन्द्रावतीमा आयोजना हुने कार्यक्रममा सहभागी हुनुहुनेछ ।
त्यस्तै माघ २१ गते ऋषिङको धाक्रे खोलामा निर्मित मोटरेवल पुलको उद्घाटन, माघ २२ गते शिवसरस्वती उच्च माध्यमिक विद्यालयमा निर्मित पुस्तकालयको उद्घाटन, घिरिङ गाउँपालिकाको मोचाबारी, मानपुर, गावडाँडा, गड्यौलीटार र पुट्टारमा आयोजना हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । माघ २३ गते भीमाद नगरपालिकाको डुम्रेवेशी, किहु, बडहरभञ्ज्याङमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको पौडेलका स्वकीय सचिव चिरञ्जीवि अधिकारीले जानकारी दिनुभयो ।