तनहुँ : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले मोही माग्ने ढुङ्ग्रो लुकाउने गर्न नहुने बताउनुभएको छ । नेपाली काङ्ग्रेसका भातृ संस्थाहरुले साेमबार दमौलीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले संसद विघटनको घटनामा काङ्ग्रेसले एकढिक्का भएर विरोधका आवाज राख्नुपर्ने टिप्पणी गर्नुभयो ।
“संसद विघटन असंवैधानिक छ भनेर काङ्ग्रेसले भनिसकेकाले यसको उपचार पनि काङ्ग्रेसले खुलेर भन्न पर्छ, मोही माग्ने ढुङ्ग्रो लुकाउने गर्न हँुदैन,” पौडेलले भन्नुभयो, “प्रतिनिधिसभाको पुनस्र्थापना भएर मात्रै लोकतन्त्र र संविधान सहि गतिमा आउँछ ।” जनताले प्रतिनिधिसभालाई पाँच वर्षको लागि चुनेकाले प्रतिनिधिसभाको म्याद पाँच वर्ष नै हुनुपर्ने पौडेलले जिकिर गर्नुभयो । “प्रतिनिधिसभा पुनस्र्थापन भएपछि मात्रै काङ्ग्रेसको मन्तव्य र गन्तव्य प्रष्ट हुन्छ,” उहाँले भन्नुभयो, “काङ्ग्रेसको मन्तव्य यो कार्य अवैधानिक हो भनेर भन्ने र गन्तव्य भनेको वैधानिक बनाउने नै हो ।” नेपाली काङ्ग्रेस अवसरवादी पार्टी नभएको पौडेलको भनाई थियो ।
वरिष्ठ नेता पौडेलले सर्वोच्च अदालतबाट संसद पुनस्र्थापना हुने विश्वास व्यक्त गर्नुभयो । “सर्वोच्च अदालतले न्यायको पक्षमा फैसला गर्ने हुनाले काङ्ग्रेस निर्णायक सङ्घर्षमा पुगेको छैन, हामी निर्णायक सङ्घर्षमा पुग्न नपरोस्,” उहाँले भन्नुभयो, “अदालतप्रति आशा र विश्वास छ ।”
लोकतन्त्रको सिद्धान्तमाथि पटक–पटक आक्रमण भइरहेको चर्चा गर्दै वरिष्ठ नेता पौडेलले नेताहरुको महत्वाकाङ्क्षाका कारण संसद भङ्ग हुने गरेको इतिहास रहेको दावी गर्नुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आले, राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ, शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, नेपाल महिला सङ्घका सभापति पवित्रा पौडेल लगायतले अदालतले संसद पुनस्र्थापनको पक्षमा फैसल गर्ने विश्वास व्यक्त गर्नुभयो ।