दुलेगाैडा : गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सोमबार आफ्नो निर्वाचन क्षेत्र तनहुँ २ (क) मा विभिन्न योजनाको अनुगमन गर्नुभएको छ । सोमबार उहाँले गृह नगर समेत रहेको भिमाद नगरपालिकामा सञ्चालन भईरहेका र अब सञ्चालन गर्ने योजनाको स्थलगत निरीक्षण गर्नुभएको हो ।
भिमाद नगरपालिका–६ कुमारचोकमा सेती नदी कटानले प्रभावित क्षेत्रको निरीक्षणसँगै स्थानीय र जनप्रतिनिधिसँग अन्तरक्रिया गर्नुभयो । उहाँले गण्डकी प्रदेश सरकारले तटबन्धनको काम गर्ने बताउनुभयो । त्यहाँ तटबन्धनका लागि डिभिजन सिंचाई कार्यालय तनहुँले भिमाद नगरपालिकासँगको सहकार्यमा डिपिआर तयार पारेको छ । करिब १५ करोड लागतको डिपिआर बनेको छ ।
यस्तै मन्त्री गुरुङले ईको पार्क निर्माणका लागि भिमाद–९ मा रहेको चमेरो गुफाको निरीक्षण गर्नुभयो । नेपालकै लामो दाबी गरिएको उक्त गुफामा हजारौँको सङ्ख्यामा चमेरो रहेका छन् । ती चमेरोको संरक्षण र अवलोकनका लागि सहजताका लागि ईको पार्क बनाउन लागिएको हो । मन्त्री गुरुङले भिमाद–९ मोहोरियामा रहेको घ्याङचलुम ढुङ्गाको पनि अवलोकन गर्नुभएको छ । त्यहाँ प्रदेश सरकारको लगानीमा पंक्षी पार्क बनाउने योजना रहेको छ ।
साथै उहाँले भिमाद–८ राङरुङ पिपलडाँडामा निर्माणाधीन रहेको पिपलडाँडा हरित पार्कको निरीक्षणसँगै वृक्षारोपण समेत गर्नुभएको छ । उहाँले भिमाद–९ सखेपमा निर्माणाधीन बहुउद्धेश्यीय सामुदायिक भवन लगायतका योजनाको प्रगतिबारे जानकारी लिनुभयो । निरीक्षणमा मन्त्री गुरुङसँगै भिमाद नगरपालिकाका मेयर मेखबहादुर थापा, डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्ले लगायत सहभागी हुनुहुन्थ्याे ।