


तनहुँ : तनहुँको भीमाद नगरपालिका–५ र ६ जोड्ने ऋषिङपाटनमा आगामी वैशाखसम्म कालोपत्रे सम्पन्न हुने भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा भीमाद ऋषिङपाटनमा कालोपत्रेको काम अगाडी बढेको हो ।
गत वर्षको मङ्सिर पहिलो सातादेखि काम शुरु गरिएपनि कोभिडका कारण बीचमा काम प्रभावित भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । वैशाखसम्म सडक कालोपत्रे सम्पन्न गर्ने गरी काम अगाडी बढेको कार्यालयका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिनुभयो ।
सडक कालोपत्रे गर्ने म्याद विसं २०७७ पुस २२ गतेसम्म रहेपनि २५ प्रतिशत समयअवधि थप भएको छ । “वेश हाल्न शुरु भइसकेको छ, वैशाखसम्म काम सम्पन्न गर्ने निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन,” ढुङ्गानाले भन्नुभयो ।
ट्रयाक खुलेको २४ वर्षपछि उक्त मार्ग कालोपत्रे हुन लागेको हो । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय मार्फत् रु १२ करोड ७८ लाख ९८ हजार ५ सय ७३ को लागतमा सडक कालोपत्रेको ठेक्का लागेको छ । उक्त सडकको ट्रयाक विसं २०५२ सालमा खुलेको थियो । सडक कालोपत्रेका लागि काठमाडौंस्थित महालक्ष्मी कन्स्ट्रक्सन कन्सर्नसँग गत असोज २३ गते सम्झौता भएको थियो ।
६ किमि सडकको १० मिटर दायाँबायाँमध्ये ९ मिटरमा कालोपत्रे गरिनेछ । सडकको १÷१ मिटरमा नाला निर्माण हुनेछ । धुँवा र धुलोबाट आक्रान्त भएका यहाँका स्थानीयवासीलाई मोटरमार्ग कालोपत्रे भएपछि सहज हुनेछ । उक्त सडक एक निर्वाचन क्षेत्र एक सडक अन्तर्गतको योजना हो ।
ट्रयाक खुलेको लामो समयपछि मोटरमार्गमा कालोपत्रेको काम शुरु भएपछि स्थानीयवासी खुशी भएको भएको मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष गञ्जसिंह गुरुङले बताउनुभयो । सडक कच्ची हुँदा घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने समस्याले यहाँका स्थानीयवासी आक्रान्त हुँदै आएको गुरुङले बताउनुभयो । “सडक कालोपत्रे सम्पन्न भएसँगै धुलोको समस्याबाट मुक्ति पाइने भएको छ,” गुरुङले भन्नुभयो ।