


तनहुँ : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टले बाँडेका के के आश्वास पूरा भए भनेर सोध्ने बेला आएको बताउनुभएको छ । तनहुँको व्यास र भानु नगरपालिकाका विभिन्न ठाउँमा मङ्गलबार आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कम्युनिष्टहरु आश्वासन बाँड्न मात्रै खप्पिस रहेको आरोप लगाउनुभयो ।
“रामचन्द्र पौडेलले केही गरेन भन्नेहरुले के गरे ? जस्तो मैले छाडेको त्यस्तै छ विकास निर्माणको काम अलपत्र छ,” वरिष्ठ नेता पौडेलले भन्नुभयो । वरिष्ठ नेता पौडेलले गाउँ–गाउँमा विकासको मूल फुटाउनुपर्ने बताए । पौडेलले गाउँमा प्रचुर सम्भावना रहेकाले गाउँ–गाउँमा विकासको गति बढाउनुपर्नेमा जोड दिनुभयो ।
सङ्घीयता कार्यान्वयनसँगै ग्रामीण भेगमा विकासको क्रम शुरु भएपनि उक्त गतिलाई बढाउन आवश्यक रहेको बताउनुभयो । “खण्डहर बन्दै गएको गाउँमा बाटो, बिजुली, शिक्षा, स्वास्थ्य पु¥याएर गाउँबाट भागेको मनलाई गाउँमै फर्काउनुपर्छ,” उहाँले भन्नुभयो, “गाउँमै हुर्किएको व्यक्ति भएकाले गाउँका सबै समस्या मलाई थाहा छ, म सोही अभियानमा छु ।”
रामचन्द्र पौडेलले गाउँको विकासका लागि केही गरेन भनेर आरोप लाग्ने गरेको बताउँदै वरिष्ठ नेता पौडेलले त्यस्ता आरोप लगाउनेले झन् जिल्लामा विकासको सिन्को नभाँचेको टिप्पणी गर्नुभयो । “रामचन्द्र पौडेलले केही गरेन भन्नेहरुले जिल्लाको विकासका लागि के गरे ? अब सोध्ने बेला आएको छ, मैले जस्तो छाडेको थिएँ, त्यस्तै छ,” पौडेलले भन्नुभयो ।
वरिष्ठ नेता पौडेलले संविधानमा कुनै व्यक्तिले संसद विघटन गर्न नपाउने प्रष्ट लेखेको हुनाले अदालतले उक्त कदम सच्याउने विश्वास व्यक्त गर्नुभयो । काङ्ग्रेसले संसद विघटनको घटनालाई असंवैधानिक भनिसकेकाले काङ्ग्रेसको एकमात्र माग पुनस्र्थापना नै हुनुपर्नेमा पौडेलले जोड दिनुभयो । जनताले ठूलो विश्वास गरेर कम्युनिष्टलाई मत दिएपनि सरकारले जनताको भावना अनुसार काम नगरेको पौडेलले आरोप लगाउनुभयो ।
वरिष्ठ नेता पौडेलले व्यास नगरपालिका–१० खहरे, व्यास–७ को कलेस्ती, व्यास–७ छापथोक, व्यास–८ कोटथोक, व्यास–९ मेवाडाँडा, व्यास–१० दलभञ्ज्याङ, व्यास–९ को गैही्रस्वारा, भानु–१३ पोखरीछाप, भानु–१३ को मिर्लुङ, बासपानी, बाँकेभञ्ज्याङ, व्यास–१२ को चन्द्रावती लगायतका ठाउँमा कार्यकर्ता भेटघाट गर्नुभएको छ ।