काठमाडौं : नेकपाको ओलीपक्षले आज राजधानीमा शक्ति प्रदर्शनसहित आमसभाको आयोजना गरेको छ । दिउँसो १२ बजेदेखि दरबारमार्गस्थित नारायणहिटी संग्रहालयको गेटअगाडि हुन लागेको आमसभाका लागि देशैभरबाट कार्यकर्ता काठमाडौं ल्याइएको ओली पक्षीय नेकपाले जनाएको छ ।
आमसभालाई प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ । त्यसअघि उपत्यकाका विभिन्न स्थानबाट जुलुस सुरु हुनेछ, जुन दरबारमार्गमा पुगेर सभामा परिणत हुनेछ ।
बागबजारबाट सम्पूर्ण सम्पर्क मञ्चका सहभागी, प्रदर्शनीमार्गबाट युवा, विद्यार्थी,खेलकुद महासंघ र प्रेस संगठन लगायत, पेशागत संगठनहरुको जुलुस निस्कनेछ ।
महेन्द्र सालिकबाट पूर्व जनजाति महासंघका घटक संगठन, घण्टाघरमा मुस्लिम समुदायका सहभागी तथा सुन्धारा क्षेत्रबाट ललितपुर जिल्लाका सहभागीहरुको जुलुस निस्कनेछ ।
त्यस्तै त्रिपुरेश्वरबाट चितवन, धादिङ र सोही बाटो भएर आउने सबै सहभागी, गौशालाबाट भक्तपुर, माइतीघरबाट दोलखा,रामेछाप, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुली जिल्लाबाट आउनेहरुको जुलुस निस्कनेछ ।
पुतलीसडकबाट सम्पूर्ण जनवर्गीय संगठन, लैनचौरबाट नुवाकोट, रसुवाका सहभागी, सोह्रखुट्टे नयाँ रोडबाट मकवानपुर, भीमफेदीको बाटोबाट आउनेका लागि तोकिएको छ ।
(स्रोत : नेपाल प्रेस)