तनहुँ : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुनस्र्थापन आन्दोलनबाट नभई अदालतबाट फैसलाको पक्षमा रहेको बताउनुभएको छ । रिपोर्टस् क्लव तनहुँले शनिबार दमौलीमा आयोजना गरेको साक्षात्कारमा बोल्दै वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको गल्ती सर्वोच्च अदालतले सच्याउने बताउनुभयो ।
संसद विघटनलाई सर्वोच्च अदालतले सच्याउनेमा आफूहरु ढुक्क रहेको बताउँदै पौडेलले पार्टीभित्रको झगडालाई लिएर प्रधानमन्त्रीले संसदमा प्रहार गर्नु गल्ती भएको चर्चा गर्नुभयो । आन्दोलनबाट नभई अदालतबाट फैसलाको पक्षमा आफूहरु रहेको भन्दै संयुक्त आन्दोलनको पक्षमा अहिले नसोचिएको उहाँको भनाई थियो । संविधानको मर्म र भावना विपरित संवैधानिक आयोगमा गरिएको नियुक्ति खारेज हुनुपर्ने पौडेलले माग गर्नुभयो ।
वरिष्ठ नेता पौडेलले देशमा स्थायीत्व र समृद्धि आवश्यक रहेको बताउनुभयो । नेपाली काङ्ग्रेसले मात्रै देश विकास गर्न सक्ने दावी गर्दै वरिष्ठ नेता पौडेलले नयाँ राजनीतिक धु्रवीकरणले काङ्ग्रेसलाई उक्त अवसर प्राप्त भएको चर्चा गर्नुभयो । “काङ्ग्रेसले हैसियत, उत्तरदायित्व बुझेर अगाडी बढ्नुपर्छ, अहिले प्राप्त भएको अवसरलाई सदुपयोग गर्नुपर्छ,” पौडेलले भन्नुभयो । वरिष्ठ नेता पौडेलले काङ्ग्रेसलाई भरोसाको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो । झण्डै दुई तिहाई मत प्राप्त सरकारले जनभावना अनुसार काम गर्न नसकेकाले जनताको आकर्षण काङ्ग्रेसमा बढेको पौडेलको भनाई थियो ।
वरिष्ठ नेता पौडेलले पार्टीको विधान बचाएर काङ्ग्रेसलाई पनि बचाउनुपर्ने बेला आएको बताउनुभयो । पार्टीभित्र भएका विधान विपरितका काम सच्याएर अगाडी बढ्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “एक वर्ष म्याद थप्न पाउने अवधि पनि सकिन लाग्यो, माघ मसान्तभित्र क्रियाशील सदस्यता टुङ्गो लगाएर अधिवेशनगर्ने तर्फ लाग्नुपर्छ ।” काङ्ग्रेसको आगामी महाधिवेशनमा सभापतिबारे सोधिएको सञ्चारकर्मीको प्रश्नमा वरिष्ठ नेता पौडेलले अहिल्यै त्यसबारेमा बोल्ने बेला नआएको टिप्पणी गर्नुभयो ।