काङ्ग्रेसभित्र आत्मसमिक्षाको खाँचो छ : वरिष्ठ नेता पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    काङ्ग्रेसभित्र आत्मसमिक्षाको खाँचो छ : वरिष्ठ नेता पौडेल

    खबरपुञ्ज संवाददाता

    २३ माघ २०७७, शनिबार

    तनहुँ : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसभित्र आत्मसमिक्षाको खाँचो रहेको औंल्याउनुभएको छ । काङ्ग्रेसका शुभेच्छुक संस्थाहरुले शनिबार दमौलीमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले काङ्ग्रेस कमजोर हुनुको कारण खोज्दै आत्मसमिक्षाको आवश्यकता रहेको बताउनुभयो ।

    सङ्घर्षपूर्ण इतिहासबाट आएको काङ्ग्रेस कमजोर बन्दै गइरहेको बताउँदै वरिष्ठ नेता पौडेलले भन्नुभयो, “काङ्ग्रेस आफै सुध्रिएर जनताको मन जित्नेतर्फ लाग्नुपर्छ ।” वरिष्ठ नेता पौडेलले कम्युनिष्ट विभाजित भयो भन्दैमा खुशी हुने नभई काङ्ग्रेस आफैमा बलियो हुनुपर्ने टिप्पणी गर्नुभयो । “काङ्ग्रेसभित्र के के गल्ती भए त्यसलाई सच्याउँदै जनताको मन जित्नेतर्फ लाग्नुपर्छ, काङ्ग्रेसमा लागेको धुलो टकटकाएर सफा भएर अगाडी बढ्नुपर्छ,” उहाँले भन्नुभयो ।

    वरिष्ठ नेता पौडेलले आगामी निर्वाचनबाट काङ्ग्रेस ठूलो पार्टी बन्ने दावी गर्नुभयो । संसद पुर्नस्थापना हुँदा वा निर्वाचन हुँदा दुवै बखतमा काङ्ग्रेसलाई नै फाइदा रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “संसद पुर्नस्थापना हुनैपर्छ, त्यसो भएको खण्डमा कम्युनिष्ट विभाजित भएका छन्, फाइदा काङ्ग्रेसलाई नै हो ।” वरिष्ठ नेता पौडेलले सुशासनयुक्त र भ्रष्टाचारमुक्त नेपाल अहिलेको प्रमुख आवश्यकता रहेको चर्चा गर्नुभयो । “कम्युनिष्ट विभाजित भएका छन्, चुनावमा गइहाल्नुपर्छ भनेर बस्ने अवस्था अहिले होइन,” उहाँले भन्नुभयो, “काङ्ग्रेस अवसरवादीको पार्टी होइन ।”