तनहुँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुनले राज्यशक्ति दोहन गरेर प्रधानमन्त्री केपी ओलीले कार्यकर्ता पोस्ने काम गरिरहेको आरोप लगाउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँ दाहाल–नेपाल समूहले शनिबार आयोजना गरेको जनवर्गीय सङ्गठनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पुनले आफै निर्वाचन गरेर कानून उल्लङ्घन गर्दै धमाधम नियुक्ति बाँडेको बताउनुभयो । पुनले राज्यशक्तिको आडमा विपक्षीलाई धम्की दिने गरेको बताउँदै आफूहरु कोही कसैको धम्कीबाट नडराउने बताउनुभयो ।
भिडियाेका लागि क्लिक गर्नुहाेस् :
पुनले प्रधानमन्त्री केपी ओलीलाई संसद विघटनको कुनै अधिकार नभएको भन्दै भन्नुभयो, “मकैको गोठालो बाँदरलाई बनाउँदा आजको स्थिति पैदा भएको छ, हामी पनि यसमा लज्ज्ति छौ ।” उहाँले बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धी खोसिन नहुने बताउनुभयो । पूर्वमन्त्री पुनले लोकतन्त्र र संविधानको रक्षा गर्नु अहिलेको मुख्य चुनौति भएको बताउनुभयो ।
पाँच वर्षका लागि जनादेश प्राप्त पार्टी सडकमा आउला भनेर कसैले नसोचेको चर्चा गर्दै पूर्वमन्त्री पुनले राजनीति विचार र सिद्धान्तका आधारमा सञ्चालन गर्नुपर्ने टिप्पणी गर्नुभयो । पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली काम गर्न नसकेको भए पार्टीभित्रै छलफल गर्नुपर्ने भएतापनि संसद विघटन गरेर गलत कदम चालेको आरोप लगाउनुभयो ।
पार्टीले पाँच वर्षका लागि प्राप्त गरेको मतको अपमान भएको बताउँदै पूर्वमन्त्री पुनले फरक मतलाई समेत सम्मान गरेर अगाडी बढ्नुपर्ने अहिलेको आवश्यकता भएकामा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य रामकुमारी झाक्रीले पार्टीका कार्यकर्ता सदैव सत्यको पक्षमा उभिनुपर्ने बताउनुभयो । केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले कम्युनिष्ट पार्टी अझैपनि एकढिक्का भएर अगाडी बढ्नुपर्ने र त्यसको विकल्प भनेको संसद पुनस्र्थापना भएको उल्लेख गर्नुभयो । केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाले संसद पुनस्र्थापनाको विरोधमा सबै दलबीच संयुक्त आन्दोलनको खाँचो रहेको बताउनुभयो ।